Share this News on Social Networking Pages

काठमाण्डाै,४ चैत । नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

भेला बिहान ११ बजेदेखि सुरु हुने नेता योगेश भट्टराईले जानकारी दिए।

गएको फागुन २८ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगबाट महत्वपूर्ण निर्णय गरेसँगै माधव–झलनाथ समूह थप रुष्ट बनेको छ । पार्टीको विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने भन्दै यो समूहले आज र भोलि काठमाण्डाैमा राष्ट्रिय भेला गर्न लागेको हो ।

भेलामा देशभरबाट २ हजारभन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने नेता भट्टराईले बताए । माधव–झलनाथ समूहले आज र भोलिको भेला नरोक्ने र शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने स्पष्ट पारेको छ । यस्तै साे समूहले तल्लो तहसम्मै समानान्तर कमिटी गठन गर्ने प्रक्रिया सुरु गरेको छ ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकता खारेज गरेपछि ब्युँतिएको एमालेलाई फेरि विभाजनतर्फ लाने काम ओली समूहबाट भैरहेको माधव–झलनाथ समूहको आरोप छ । सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) पुनःस्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनःस्थापना नभइ सिङ्गो पार्टीको पुनःस्थापना भएकाले त्यसअनुसार पार्टी पङ्क्तिलाई परिचालन गरेर मात्र पार्टी बलियो हुने यो समूहको निष्कर्ष छ ।

एमाले पूर्ववत् अवस्थामा फर्किनु भनेको नवाैँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीको स्वतः पुनःस्थापना भएको र सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेको नेपाल–खनाल समूहले निकालेको विज्ञप्तिमा भनिएको छ ।