काठमाण्डौ,३ चैत ।
बिभिन्न दलका नेताहरुले राष्ट्रपतिकै अगाडि प्रधानमन्त्रीलाई प्रतिगमनको आरोप लगाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा नेताहरूले उक्त आरोप लगाएका हुन् ।
आफ्नो बङ्गलादेश भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रपति भण्डारीले मंगलबार दलका नेताहरूलाई बोलाएर छलफल तथा चियापानको कार्यक्रम राखेकी हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीले भने संसद् विघटनको निर्णय ठिक रहेको जिकिर गरेको र अहिले संसद् बैठक चल्न नसक्नुले आफ्नो कदम ठिक साबित भएको बताएको राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो चुनावमा जानुपर्ने कुरालाई पटक–पटक जोड दिएका थिए । तर नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायतका दलका नेताहरूले राष्ट्रपति भण्डारीकै सामुन्ने प्रधानमन्त्रीले प्रतिगमनको बाटो रोजेको र अदालतले त्यसलाई असफल बनाइदिएको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
प्रधानमन्त्रीले संविधान र लोकतन्त्र नमानेको दलका नेताहरूले आरोप लगाएका थिए । बैठकमा राष्ट्रपतिले आफू संविधान र लोकतन्त्रको संरक्षक भएकाले सरकारले गरेका सिफारिस पारित गर्नु आफ्नो कर्तव्य हुन आउने बताएकी थिइन् ।