Share this News on Social Networking Pages

काठमाडौं,२ चैत ।
नेकपा एमालेमा अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच आज भएको छलफल निष्कर्षबिहीन भएको छ ।

दुबै पक्षले आ–आफ्नो अडान नछाडेपछि छलफल निष्कर्षबिहीन भएको हो ।

छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि आफ्ना नेताहरुलाई त्यस बिषयमा ब्रिफिङ गर्न बसेको नेपाल समूहको भेलाले कार्यक्रम नरोक्ने निष्कर्ष निकालेको हो ।

चैत ४ र ५ गते बोलाइएको कार्यकर्ता भेला नरोकिने स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । गुटगत कार्यक्रमले पार्टीलाई एकताबद्ध गर्नका लागि समस्या हुने भन्दै ओली पक्षले भेलालाई रोक्न आग्रह गरेको छ ।

प्रधानमन्त्री ओली समूहले भोलि आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नहुने केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।

अध्यक्ष ओलीले गरेको एकलौटी निर्णय फिर्ता नभएसम्म चियापान कार्यक्रममा जानुको अर्थ नहुने भन्दै उनले सबै कुरा मिलेपछि एकताबद्ध भएर देशव्यापी चियापान कार्यक्रम गर्न सकिने प्रतिक्रिया दिए ।