काठमाण्डौ,२९ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा (बादल) लगायतका मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।
शनिबार बिहान पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले माओवादीबाट मन्त्री भएका सबैलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । माओवादी धारका गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा रहेका छन् ।
मन्त्री बनेकासहित माओवादी धारका २३ जनालाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाएका थिए ।
एमालेको ओली समूहमा लागेका माओवादी केन्द्रका सबै प्रदेश तथा संघीय सांसदहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको माओवादीका एक नेताले बताए ।
बैठकले भोलि ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ भने पर्सि २ गतेका लागि बोलाइएको राष्ट्रियभेला स्थगित गरेको छ ।