काठमाडौं,२८ फागुन ।
प्रधानमन्त्री केपी ओलीको निर्मम पेलाइमा पर्दै आएको एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अर्को पेलाइमा परेको छ । सर्वोच्च अदालतको फैसलाले एमाले ब्युँतिएपछि पुरानै जिम्मेवारीमा फर्केको नेपाल पक्षको सबै काम,कर्तव्य खोसेर ओलीले आफू अनुकूल कमिटी पुनर्गठन गरेका हुन् ।
आजै एकलौटी निर्णय गर्दै ओलीले आफ्नो सर्वोच्चको आदेशसंगै पुनस्र्थापित महासचिव ईश्वर पोखरेलबाहेक सबै पदाधिकारीको पद खारेज गरेका छन् ।
यसको घानमा कतैपट्टि पनि नलागी पार्टी मिलाउन हिंडेका उपाध्यक्ष वामदेव गौतम पनि परेका छन् ।
गौतमले यसलाई एक ब्यक्तिको चरम अराजकता र कम्युनिस्ट आन्दोलनका नाममा कलँकको सँज्ञा दिएका छन् ।
ओलीले सातै प्रदेशमा आफूपक्षीय नेतालाई इन्चार्ज तोक्नुभएको छ भने केन्द्रीय कमिटी पनि विस्तार गरेका छन् । त्यस्तै,योगेश भट्टराईबाट खोसेर प्रचारविभाग प्रदीप ज्ञवालीलाई दिइएको छ । अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई बागमती प्रदेशको ईन्चार्ज तोकिएको छ । भीम रावलको ठाउँमा लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको ईन्चार्ज बनाइएको छ ।
नेपाल पक्षले पार्टीको बैठक बोलाउन माग गरिरहेकै बेला ओलीले आफूखुशी कमिटी पुनर्गठन गरेका हुन् । मनोनीत कमिटीमा माओवादी केन्द्रबाट आफूतिर आएका २२ जना नेताहरुलाई भने महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।
पदाधिकारी र स्थायी कमिटीको बहुमतमा रहेको नेपाल पक्षलाई बेवास्ता गरी ओलीले विधान विपरित कमिटी पुनर्गठन गरेपछि नेपाल पक्ष आक्रोशित भएको छ ।
एमालेले प्रदेश १ मा सुवास नेम्वाङ र प्रदेश २ मा सत्यनारायण मण्डललाई प्रदेश इन्चार्ज तोकेको छ । यस्तै, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ ।
यस्तै, एमाले प्रचारविभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ भने संगठन विभागको प्रमुखमा विष्णु पौडेल, विदेश विभागको प्रमुखमा डा. राजन भट्टराईलाई जिम्मेवारी दिइएको छ ।
पार्टीका बरिष्ठ नेताहरु समेत अनुपस्थित बैठकले महाधिवेशन , प्रदेश इन्चार्जहरु तोक्ने र केन्द्रीय सदस्यहरु मनोनित गर्ने जस्तो महत्वपूर्ण निर्णय गर्नुले प्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष ओली नेपाल–खनाल पक्षलाई पेलेरै जाने रणनीतिमा रहेको प्रष्ट भएको छ ।
ओली पक्षले एकलौटी रुपमा गरेको निर्णयबारे नेपाल–खनाल पक्षको कुनै धारणा सार्वजनिक भएको छैन ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र पार्टी व्युताउने निर्णय गरेसँगै अध्यक्ष ओलीले नेकपा एमालेमा अध्यक्ष मात्रै पुनस्र्थापित भए जस्तै एकलौटी निर्णय गर्नुले नेकपा एमालेको अबको यात्रा सहज रुपमा अगाडी बढ्नेमा आशंका उत्पन्न भएको छ ।