क्रान्तिका लागि तयार रहन अपील
बुटवल, २८ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा फेरी एक पटक क्रान्ति गर्नुपर्ने अवस्था आएको भन्दै क्रान्तिका लागि तयार रहन अपील गरेका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै प्रचण्डले मुलुकमा अहिले परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेकाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि फेरी एक पटक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताए ।

१० बर्षे जनयुद्धमा दलित समुदायको महत्वपूर्ण योगदान रहेको भन्दै प्रचण्डले अब हुने क्रान्तिमा पनि योगदान दिन अपील गरे ।

दलित समुदायको साथ र समर्थनले जनयुद्ध सफल भएको हुंदा दलितप्रति ऋणी रहेको बताउंदै उनले पार्टी पदाधिकारीमा दलितको उपस्थितिमा गुणात्मक रुपमा बृद्धि गरिने बताए ।
जनमत निर्माणमा पत्रकारको भूमिका हत्वपूर्ण र कतिपय अवस्थामा निर्णयक समेत हुने बताउदै उनले फेरी एक पटक क्रान्तिको जनमत निर्माणको भूमिका निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गरे ।

यद्यपी अबको क्रान्ति भने शान्तिपूर्ण हुने प्रचण्डको भनाई थियो ।

सर्वोच्चको पछिल्लो फैसलाले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा रहेको टिप्पणी गर्दै उनले संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने ठूलो वहस शुरु भएको बताए ।
उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेर संविधानलाई लिकमा ल्याए पनि प्रतिगामी षड्यन्त्र जारी रहेको बताए ।

राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धी उल्ट्याउने षडयन्त्र भइरहेको बताउदै प्रचण्डले गणतन्त्र, संघीयता, समानुपातिक, समावेशीता मन नपराउने देशभित्रका प्रतिक्रियावादीहरु र देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु मिलेर परिवर्तन उल्ट्याउन खोजेको दाबि गरे ।

मुलुकमा राजनीतिक परिवर्तन ल्याउन नेतृत्व गर्ने नेताहरुलाई बद्नाम गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको भन्दै प्रचण्डले आफुलाई पनि अहिले बदनाम गर्ने र घेरावन्दी गर्ने काम भैरहेको बताए ।

१२बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको भन्दै उनले भने, ‘म अहिले जीवितै छु र अहिले यो परिवर्तन उल्ट्याउन सबैभन्दा घेराबन्दी ममाथि भइरहेको महसुस गर्छु ।’

संसद विघटन, जनताको सार्वभौम अधिकार उल्ट्याउने षडयन्त्र भएकाले त्यसविरुद्ध आफूहरु लडेको र सर्वोच्च अदालतले पनि संसद पुनस्र्थापनाको पक्षमा फैसला गरेको बताए ।
तर प्रतिक्रिवादी षडयन्त्र नरोकिएको र अनौठा–अनौठा परिघटना देख्नु परेको उनले बताए । नेकपाको नाम विवादमा सर्वोच्च अदालतले गरेको फैसलातर्फ संकेत गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘म कसैलाई गाली गर्न गइरहेको छैन, तर एउटा गम्भीर प्रश्न खडा भएको छ । जन्माइसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने अनौठो र अस्वाभाविक परिघटना देख्नु परेको छ । त्यस्तो हुन्छ ?’
उनले अघि भने, ‘हुनै नसक्ने कुरा हुन थालेको छ भने केही अनिष्ट हुँदैछ कि देशमा भन्ने संकेत होइन र यो ? हेर्दै जाउँ, अझ केके अस्वाभाविक परिघटना देख्नुपर्ने हो ।’
अहिले संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस भइरहेको भन्दै उनले आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन सक्ने बताए । उनले अघि भने, ‘प्राप्त उपलब्धीको हत्या गर्ने र एक खालको निरंकुशतातिर लैजाने काम भयो भने मान्य हुने छैन ।’

देशलाई प्रतिगमन, र अराजकतातिर लैजान खोज्नेलाई परास्त गर्ने प्रचण्डको बिस्वास छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खांणले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाए ।

संविधानको रक्षा गर्ने जिम्मेवारी र दायित्व सरकारको भए पनि ओलीले प्रधानमन्त्री बनेदेखिनै निरन्तर संविधानमाथि प्रहार गर्दै आएको दाबी गरे ।

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारले मिडिया काउन्सील र सूचना प्रविधि विधेयक ल्याएको स्मरण गर्दै उनले नेपाली कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको बताए । सरकार मानव अधिकारको सवालमा पनि विरोधी रहेको भन्दै खांणले संवैधानिक आयोगमा अध्यादेशमार्फत गरिएको नियुक्तिले ओली सरकार संविधानप्रति पनि असहिष्णु छ भन्ने पुष्टी भएको बताए । उनले संविधान च्यात्न खोज्ने आफै समाप्त हुने बताए । खांणले सरकारलाई नक्कली मयूरको संज्ञा दिए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोेविन्द खनालले दलित समुदाय राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले विभेदमा परेकाले उनीहरुलाई न्याय र अधिकार दिन राज्यले कन्जुस्याई गर्न नहुने बताए ।

उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ दुर्गा सोंब, अग्रज पत्रकार बालकृष्ण चापागाई,पत्रकार महासंघका केन्द्रीय सचिव रेम विश्वकर्मा,लुम्बिनी प्रदेश उपाध्यक्ष भरत केसी,राष्ट्रिय दलित पत्रकार संघकी उपाध्यक्ष कमला रसाइली लगायतले आफ्ना धारणा राखेका थिए ।

महाधिवेशन उद्घाटनका अवसरमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कलेन्द्र सेजुवाल र बृजलाल पासवानलाई संयुक्तरुपमा प्रदान गरिएको छ । पुरस्कारको राशी ५० हजार रहेको छ । यस्तै देवव्रत परियार स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार रुपन्देहीकी मिना ढकाललाई प्रदान गरिएको छ । परशु सवरी पत्रकारिता पुरस्कार रोल्पाका मानसिंह विश्वकर्मालाई प्रदान गरिएको छ ।
महाधिवेशनमा देशभरबाट करिव ४ सय पत्रकारहरुको सहभागिता रहेको छ । महाधिवेशनमा ‘आमसञ्चार र समावेशिताको सवाल’,‘मिडियामा महिला र दलित महिला’ र ‘दलित आन्दोलन युवा र आम सञ्चार’ बिषयमा छुटाछुट्टै कार्यशाला गोष्ठि हुने संघका अध्यक्ष विनोद पहाडीले बताए । उक्त कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल, विष्णु निष्ठुरी, प्रेस काउन्सीलका निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार निर्मला शर्मा, महिला नेतृ दुर्गा सोब लगायतका वक्ताको प्रस्तुति रहने पहाडीले बताए ।