काठमाडौं,२५ फागुन ।
निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेको छ ।
सर्वोच्च अदालतले साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिई पूर्वपार्टीकै हैसियतमा कायम गरिदिएपछि आयोगले पछि दर्ता भएका किराती र तिवारीको पार्टीलाई खारेज गरेको हो ।
मंगलबार बसेको आयोगको बैठकले किरातीको पार्टीको नाम र चुनाव चिह्न पनि नरहेको भन्दै १५ दिनभित्र पार्टीको नयाँ नाम र चुनाव चिह्न पेश गर्न आग्रह गरेको छ ।
तिवारीलाई भने आयोगले पार्टीको नयाँ नाम पेश गर्न भनेको छ र उनको पार्टीको चुनाव चिह्न कायम राखेको छ ।
एमाले र माओवादी केन्द्र एकीकरण भएपछि ती दुबै नाम खाली भएका थिए । खाली भएको नेकपा माओवादी केन्द्र नाममा पार्टी दर्ता गर्दा गोपाल किरातीले गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्न राखेका थिए, जुन नेकपा माओवादी केन्द्रकै चुनाव चिह्न थियो ।
नेकपा एमाले दर्ता गरेकी सन्ध्या तिवारीले भने पार्टीको चुनाव चिह्नमा डाँडामाथिको सूर्य राखेकी थिइन् ।
निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नामको दल दर्ता हुँदा हुँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपा (नेकपा) दर्ता गरिदिएपछि ऋषी कट्टेल सर्वोच्च गएका थिए ।
कट्टेलले आफ्नो नाममा दल दर्ता रहेको अवस्थामा निर्वाचन आयोगले आफ्नो दलसँग नाम मिल्नेगरी अर्को दल दर्ता गरेकोले आयोगको निर्णय बदर गर्न माग गरे पनि अदालतले भने कट्टेलको मागदाबी भन्दा बाहिर गएर एमाले र माओवादी केन्द्रबीचको एकतानै खारेज गरेको थियो ।
एउटाको नाममा दल दर्ता हुँदा हुँदै सोही नामको अर्को दल दर्ता गरेर ऋषी कट्टेलमाथि अन्याय गरेको आयोगले बिधिवत रुपमा दर्ता भएको गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेर फेरी अर्को अकर्मण्डेता देखाएको छ ।
नम जुधाएर दल दर्ता गर्नु आयोगको निर्णय बदर गर्ने अदालतको निर्णय जायज भए पनि मागदाबीनै नगरिएको बिषयमा समेत प्रवेश गरेको भनि आलोचना भएको छ ।