Share this News on Social Networking Pages

गुल्मी,२५ फागुन ।
सवारीसाधन चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक युवकलाई गुल्मी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको रेसुंगा नगरपालिका–७ भुजेलखर्कका २३ वर्षीय सन्दीप चुँदारा रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

चुँदाराले फागुन २२ गते रेसुंगा नगरपालिका–१ उदिनढुङगामा पार्किङ गरी राखेको लु ५७ प ४५५ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ । तारलाई डाइरेक्ट जोडेर स्टार्ट गरी लग्दैगर्दा मिलन चोकमा स्टार्ट बन्द भएपछि सो मोटरसाइकल त्यँही छोडेर चुँदाराले बा ७४प ९३९० नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ ।

चुँदाराले फागुन १८ गते रेसुङगा नगरपालिका–१ आर्दश पथमा पार्किङ गरी राखेको लु १च ६१६४ नम्बरको बोलेरो जीप पनि चोरी गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

पक्राउ परेका चुँदारालाई जिल्ला अदालत गुल्मीमाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चुँदारा तम्घासमा रहेको एक मेटल वर्कसपमा काम गर्दै आइरहेको प्रहरीले जनाएको छ ।