सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम परिवर्तन गर्नुपर्ने

काठमाडौँ,२३ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी दलको आधिकारिकता ऋषी कट्टेल नेतृत्वको नेकपाले पाएको छ ।

निर्वाचन आयोगबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दिएको दलको मान्यता सर्वोच्च अदालतले बदर गरिदिएको हो ।

सर्वोच्च अदालतको यो निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी थप जटिल बनेको छ । अब दुवै पक्ष मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनुपर्नेछ ।

नाम परिवर्तन गर्दा विधानसमेत परिवर्तन गर्नुपर्ने भएकाले नेकपाका केन्द्रीय सदस्यमध्ये दुई तिहाइले त्यसबारे निर्णय गर्नुपर्नेछ । हालको अवस्थामा यसरी निर्णय गर्नु असम्भवप्राय छ ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिस्ट पार्टीलाई त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै सर्वोच्च अदालतमा दिएको मुद्दामा आज फैसला भएको हो । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आयोगको निर्णय बदर गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलको दाबीअनुसार उनले नेतृत्व गरेको दल २०७० साउन २२ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । उक्त पार्टीको संक्षिप्त नाम नेकपा भनी जनाइएको थियो । निर्वाचन आयोगमा कट्टेल नेतृत्वको नेकपाको दर्ता कायमै थियो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले २०७५ जेठ ३ गते मदन–आश्रित स्मृति दिवसको अवसर पारेर पार्टी एकीकरण गरे । त्यसैअनुसार निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया अघि बढाए । यसअघि नै नेपाल कम्युनिस्ट पार्टीको नाममा दल दर्ता भएको भन्दै निर्वाचन आयोगले २०७५ असार २२ गतेको निर्णयले एकीकरण भई बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भनी दर्ता गर्ने निर्णय गरेको थियो ।

आफ्नो दलको नामसँग जुधाएर अर्को दल दर्ता गर्ने काम कानुन विपरीत भएको निष्कर्षसहित कट्टेल नेतृत्वको नेकपाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार आयोगको निर्णय गलत भएको दाबी गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा रहेकाले त्यसको प्रभावमा गैरकानुनी क्रियाकलाप गरेको र त्यसबाट आफ्नो पुरानो दलको अस्तित्व मेटाउने काम भएको कट्टेलले आरोप लगाएका थिए ।