गुल्मी,२१ फागुन ।
हत्या आरोपमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेपछि गुल्मीको रेसुंगा नगरपालिका–३ भाँडगाउँमा मृत फेलापरेकी सम्झना बोहराको शव आफन्तले बुझेका छन् ।
सम्झनाको शव शुक्रबार बिहान उनको परिवारले बुझेको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपछि मृत फेला परेको चार दिनपछि मृतकका आफन्तले शुक्रबार शव बुझेका हुन् ।
फागुन १७ गते भेटिएको शव पोष्टमार्टम भएपनि आफन्तले हत्यामा संलग्न पक्राउ नपरेसम्म शव नबुझ्ने अडान राखेका थिए ।
सम्झनाको हत्या आरोपमा पक्राउ परेका स्थानीय ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले बिहिबार सार्वजनिक गरेपछि माइती पक्षको सहमतिमा सम्झनाका ससुरा गणेशबहादुर खत्रीले शव बुझेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।
प्रहरीका अनुसार नाताले ससुरा पर्ने लालबहादुर हत्यापछि घटना ढाकछोप गर्न पीडित परिवार र स्थानीयले गरेको आन्दोलनमा पनि सहभागी भएका थिए । उनले सम्झनाको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । तर हत्या गर्नुको कारण भने खुलेको छैन ।
सम्झना बोहरा गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । अभियुक्त लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । अभियुक्त लालबहादुरले नै गाउँमा शवको गन्ध आएको भनी स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए ।
बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते सम्झनाको शव घरनजिकैको झाडीमा टाउको बोराभित्र राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो ।
सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासु ५२ वर्षकी तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।