Share this News on Social Networking Pages

काठमाडौं,२० फागुन ।

सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’
यसैबीच सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न आजै निर्देशन भइसकेको र अन्यको हकमा सहजीकरण गर्ने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्रबहादुर खत्रीका अनुसार बास्तोलालाई रिहा गर्ने प्रक्रिया सुरु भएको छ । ‘केही कागज तयार गर्न आज ढिला भयो, भोलि दिउँसोसम्ममा उहाँ छुट्नुहुन्छ’ उनले भने ।

चितवनका एसपी ओम अधिकारीले विप्लवका दाइ चन्द्रबहादुर चन्द वीरजंगलाई रिहा गर्ने प्रक्रिया अघि बढाउन नवलपरासीबाट मुद्दाको विवरण मगाएको बताए ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै रहेका छन् ।

गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको जनाइएको छ ।