काठमाडौं,१८ फागुन ।
सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले र विप्लव नेतृत्वको नेकपाले छुट्टा छुट्टै वार्ता टोली गठन गरेका छन् ।
सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको छ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन् ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको जनाएका छन् ।
वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको सार्वजनिक भएकै दिन भूमिगत पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रेस विज्ञप्ति जारी गरेर आफूहरुको तर्फबाट पनि समिति बनेको जनाएका हुन् ।
सञ्चारमन्त्री पार्वत गुरुङले समूहमाथिको प्रतिबन्ध पनि चाँडै फुकुवा हुने बताएका छन् । समूह हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै २८ फागुन २०७५ मा सरकारले प्रतिबन्ध लगाएको थियो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुट आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग वार्ताको प्रयास थालेका थिए । यसअघि पनि सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा भूमिगत समूहहरुसँग वार्ता गर्ने भन्दै समिति बनाएको थियो । तर, विप्लव समूहसँग स्पष्ट संवाद हुनसकेको थिएन ।