रुकुम (पूर्व),१४ फागुन ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ मा बिहीबार लागेको डढेलोले दुई घर जलेर नष्टभएको छ ।
बिहीबार साँझ सिस्ने–२, प्वाङ स्थित कुरीपानीबाट सुरु भएको आगलागीले शुक्रबार उग्र रूप लिदै गएको हो ।
उक्त डढेलोले अहिले केही महिना मात्र बसोबास गर्दै आएका दुई खरका घर जलेर नष्ट भएको वडाअध्यक्ष जीवन केसीले जानकारी दिए ।
बिहीबार साँझदेखि लागेको डढेलोले शुक्रबार वडाको दतखुना, कुचिबाङ, गोल्खाडा, सुढृ लगायत बस्तीहरूमा डढेलोको उच्च जोखिम बढिरहेको वडाध्यक्ष केसीले बताए । डढेलो नियन्त्रणको लागि इलाका प्रहरी कार्यालय प्वाङ र स्थानीयहरू लागिरहेका छन् ।
केही निश्चित समयको लागि मात्र बसोबास गर्ने गरेका दुई खरका घर जलेर नष्ट भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
प्रहरीलगायत स्थानीय डढेलो नियन्त्रणमा लागि रहेकाले पूरा विवरण भने आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।
सामुदायिक वन कुरीपानीमा कसले आगो लगाएका हो भन्ने हालसम्म थाहा नभएको प्रहरीले जनाएको छ ।