प्रकाश खनाल
बुटवल,७ बैशाख ।
रुपन्देहीको बुटवल–१ स्थित ऐतिहासिक वीरताको प्रतीककाे रूपमा रहेको जितगढी किल्ला अहिले आधुनिक संरचनासहित आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।

तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको गौरव बोकेको यो किल्ला पछिल्ला वर्षहरूमा पुनः संरचना र संरक्षणका कारण नयाँ स्वरूपमा देखिन थालेको हो ।

वि.सं. १८७१–७२ मा इष्ट इण्डिया कम्पनीसँग भएको युद्धमा उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले यही क्षेत्रमा ऐतिहासिक विजय हासिल गरेको थियो । उक्त विजयले नेपाललाई औपनिवेशिक विस्तारबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

यही ऐतिहासिक पृष्ठभूमिलाई उजागर गर्दै बुटवल उपमहानगरपालिकाले किल्लालाई व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्न गुरुयोजनाअनुसार काम अघि बढाएको छ ।

जितगढीलाई राष्ट्रियस्तरकै नमुना गन्तव्य बनाउने लक्ष्यसहित संरचनात्मक तथा सौन्दर्यीकरणका काम तीव्र पारिएकाे बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

हाल किल्ला परिसरमा नौ फिट अग्लो उजिरसिंह थापाको पूर्णकदको तामाको सालिक र ५५ फिट अग्लो टावरमा राष्ट्रिय झण्डा फहराइएको दृश्यले आगन्तुकको ध्यान आकर्षित गर्ने गरेको छ ।

किल्लाभित्र प्रवेश गर्दा कलात्मक प्रवेशद्वार र त्यससँगै लस्करै राखिएका सहिद सैनिकहरूको अर्धकदका सालिकहरूले इतिहासलाई जीवित बनाउने प्रयास गरेकाे देखिन्छ ।

अङ्ग्रेजसँगको युद्धमा वीरगति प्राप्त गरेका १३ जना सैनिक अम्बर अधिकारी, वृषसुर थापा, कृपासुर थापा, सुर्जे थापा, भीमसेन देउजा, सुरवीर बोहरा, रणसुर बानिया, हंसवीर अधिकारी, नकुल बानिया, दलखम्ब थापा, वीरमञ्जन पाँडे, जुठे बस्नेत र शमशेर राना मगरको सम्मानमा निर्माण गरिएका सालिकहरूले किल्लाको ऐतिहासिक महत्वलाई अझ सशक्त बनाएको छ ।

उपमहानगरपालिकाले अतिक्रमण हटाएर किल्लाको मौलिक स्वरूप संरक्षण गरेको छ भने हालसम्म आठ करोड १२ लाखभन्दा बढी लागतमा विभिन्न संरचना निर्माण सम्पन्न भइसकेका छन् । यसअघि प्रारम्भिक चरणमा ५० लाख र त्यसपछिका वर्षमा थप एक करोड बजेट विनियोजन गरिएको थियो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा जितगढी किल्ला नजिक आरती केन्द्र निर्माणका लागि ५ करोड रूपैयाँ विनियोजन गरेको छ । यस बजेट व्यवस्थालाई किल्लाको संरक्षण तथा प्रवद्र्धनसँग जोडेर पर्यटकीय आकर्षण बढाउने योजनाको रूपमा लिइएको छ ।

जितगढीमा नेपाल–अङ्ग्रेज युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन ७ वैशाख १८७१ का दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उप–महानगरपालिकाको २६ चैत २०७४ मा बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रूपमा मनाउन सुरु गरेको थियो । त्यसयता हरेक वर्ष जितगढी उत्सव मनाउँदै आइएको छ ।

पछिल्लो अवस्थामा किल्ला क्षेत्रमा दैनिक सरसफाइ, सूचना बोर्ड, ऐतिहासिक तस्बिर, नक्सा तथा पुरानो नेपाल झल्काउने सामग्री राखिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई इतिहास बुझ्न सहज बनाएको वडा नं. १ का जनप्रतिनिधि अशोक राईले जानकारी दिनुभयो ।

गुरुयोजनाअनुसार आगामी चरणमा जितगढी युद्ध सङ्ग्रहालय, सूचना केन्द्र, पुरानो बुटवललाई प्राचीन बजारका रूपमा पुनर्जीवन दिने तथा किल्लालाई मणिमुकुन्द सेन दरबार र नुवाकोट गढीसँग जोड्ने योजना अघि बढाइएको छ ।

समग्रमा, ऐतिहासिक पहिचान जोगाउँदै आधुनिक पर्यटकीय पूर्वाधार थपिँदा जितगढी किल्ला लुम्बिनी प्रदेशकै प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिन्छ ।

जितगढी युद्ध विजयपछी जितको उल्लास सो स्थानमा मात्र सिमित नरहेर पाल्पा भगवती मन्दिर गई उजिर सिंह थापाले मन्दिर बनाउने र रथयात्रा प्रारम्भ गर्ने संकल्प गरेको पक्ष पनि समेटिनु जरूरी रहेको सम्पदा संरक्षण अभियान्ता पदम न्यापानेकाे भनाइ छ । यो युद्ध जति ऐतिहासिक छ, पाल्पाको भगवती रथयात्राको सास्कृतिक मूल्य र मान्यता त्यो भन्दा कम नरहेको भन्दै उनलेे जीतगढी देखी पाल्पा भगवती मन्दिर (पुरानो बाटो हुँदै) जाने परम्परा प्रारम्भ गर्ने घोषणा गर्नुपर्नेमा जाेड दिएका छन् ।