बुटवल,८ बैशाख ।
बुटवलकाे जीतगढी किल्लालाई राष्ट्रिय सम्पदाको सूचीमा सूचीकृत गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
साेमबार बुटवल उपमहानगरपालिकाद्वारा आयोजित जितगढी विजय उत्सव कार्यक्रममाा बोल्ने वक्ताहरूले उक्त कुरामा जाेड दिएका हुन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जीतगढी किल्ला ऐतिहासिक किल्ला भएकाले राष्ट्रिय सम्पदाको सूचीमा सुचीकृत गर्नुपर्ने र त्यसका लागि संघीय सरकारसंग पहल गर्ने बताए ।
जीतगढी किल्ला ऐतिहासिक किल्ला भएकाले राष्ट्रिय सम्पदाको सूचीमा सुचीकृत गर्नका लागि प्रदेश सरकार सकरात्मक रहेको बताउंदै राष्ट्रिय महत्व बोकेको क्षेत्रको विकास गरेर प्रचार प्रसारमा ध्यान दिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री आचार्यले जीतगढी किल्लाको महत्व एउटा पालिकामा मात्र सीमित राख्न नहुने बताउंदै राष्ट्रिय महत्व बोकेको जीतगढी राष्ट्यिस्तरको बनाएर पर्यटकसंग जोड्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता जनाए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अंग्रेज फौजलाई परास्त गरेर नेपाल बचाउन सफल तत्कालीन कर्णेल उजिरसिंह थापालाई राष्ट्यि विभूति घोषणा गर्न संघीय सरकारसंग माग गरे । देश जोगाउनेहरुलाई राज्यले सम्मान दिनुपर्ने बताउंदै उनलेे सुरुगंमार्ग सम्पन्न गर्नका लागि स्थानीय सरकारको बजेटले सम्भव नभएकाले बजेट उपलब्ध गराउन संघीय र प्रदेश सरकारलाई नगर प्रमुख पाण्डेले आग्रह गरे ।
नगर प्रमुख पाण्डेले उज्यालो बुटवल, स्वच्छ र सम्वृद्द बटवल बनाउने विषयमा कसैको दबाव, आदेश नमान्ने, बुटवल सुधारेरै छाड्छु भन्दै उनले भने – बरु राजीनामा दिन्छु तर बुटवल बनाउने अभियानबाट पछि हड्दैन । उनले व्यवसायीमैत्री बुटवल बनाउनु पर्ने र त्यसका लागि १५ वर्षे खरिद ऐन ल्याउनु पर्ने बताउंदै छाडा गाईगोरु व्यवस्थापनका लागि ठाउंको अभावले समस्या झेल्नु परेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, सिद्दार्थनगर नगरपालिका भैरहवाकी उपप्रमुख उमा अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, इतिहांसका जानकार देवेन्द्रराज शाक्य लगायतले बोल्दै राष्ट्रिय महत्त्व बाेकेका जीतगढी किल्ला ओझेलमा परेको बताउंदै यसको संरक्षण, सम्वर्द्वनमा प्रदेश र संघीय सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
मित्रमणि खनालको सञ्चालन र नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा गोरखादेखि ११ दिन पैदलयात्रा गरी आइपुगेका नेपाली सेनाका पदयात्रीलाई किल्लामा स्वागत गरिएको थियो । साे अवसरमा नारायणदल गणले सरायँ नांच प्रस्तुत गरेको थियो भने विभित्र जात जातिका झाकी समेत प्रस्तुत गरिएको थियो । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने गरिन्छ ।
अमरसिंह थापाको समयमा भएको ‘अंग्रेज–गोर्खा युद्धमा पाल्पाको गोर्खा फौजको कमाण्ड कर्णेल उजीरसिंह थापाले सम्हालेका थिए ।
वि.स १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६÷७ ठाउँबाट युद्ध छेडिसकेका थिए । मकवानपुर–चितवन क्षेत्र, बारा–पर्सा–रौतहट,मिथिलाक्षेत्र र बुटवलको जीतगढी क्षेत्र युद्ध भएकाेमा नेपाली सेनाले जितगढीबाट अंग्रेज फाैजलाई परास्त गर्न सफल भएकोले साे किल्लाकाे नाम जितगढी रहन गएको इतिहासविदहरूकाे भनाइ छ ।








