बुटवल,७ बैशाख ।
अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा आज बुटवलको जितगढीमा “जितगढी उत्सव” मनाईएको छ ।

बुटवल उपमहानगरपालिकाले सम्पदा यात्रा शुरु गर्दै जितगढी किल्लामा पुगेर उत्सव मनाएको हो ।

उत्सवकाे एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् ।

साे अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्य पुर्खाकाे विरता, त्याग र वलिदानबाट आर्जन गरेको इतिहासलाई जाेगाउने जिम्मेवारी र दायित्व हाम्रो भएको भन्दै आजको दिनलाई राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने कुरामा जाेड दिए । आफुले संघीय सरकारसँग साे प्रस्ताव राखेकाे भन्दै उनलेे आगामी दिनमा पनि पहल गर्ने प्रतिवद्वता
ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्याल, सिद्वार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी,रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव पाेखरेल,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल,इतिहासका जानकार देवेन्द्रराज शाक्यलगायतले जितगढीकाे महत्त्व र आगामी कार्यभार बारे आ आफ्नो भनाइ राखेका थिए ।

युद्धकला, साहस र रणनीतिक कौशलका आधारमा नेपाली सेनाले विजय हासिल गरेको उक्त घटनाले नेपाललाई विश्वमा ‘वीर गोर्खाली’को रूपमा चिनाएको इतिहासमा उल्लेख छ ।

बुटवलको तिनाउ नदी किनारस्थित जितगढी क्षेत्रमा भएको युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए भने अंग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गरेका थिए । उक्त युद्धमा नेपाली सेनाका तीन गण सहभागी थिए । इतिहासविद्का अनुसार युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए ।

युद्धका क्रममा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए ।

इतिहास अनुसार कर्णेल उजिरसिंह थापाले युद्धअघि विजय प्राप्त भए भगवती मन्दिर निर्माण गर्ने भाकल गरेका थिए । युद्धमा विजयपछि पाल्पामा उक्त मन्दिर निर्माण गरिएको र अहिले पनि हरेक वर्ष भगवती जात्रा निकाल्ने परम्परा कायम रहेको छ ।

चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको यो किल्ला सेनकालीन समयमा १६ औं शताब्दीमा निर्माण भएको मानिन्छ । अंग्रेजसँगको युद्धमा विजय हासिल गरेपछि यसको नाम ‘जीतगढी’ रहन गएको स्थानीय जानकार बताउँछन् ।