Share this News on Social Networking Pages

काठमाडौं,१२ फागुन ।
नेकपा ओली समूहले सर्वोच्च अदालतको आदेश बमोजिम निर्धारित समयमै संसद् बैठक बोलाउने निर्णय गरेको छ ।

बुधबार बसेको नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको होे ।

अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको भन्दै ज्ञवालीले फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्ने बताए ।

त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उनले बताए ।

राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठकले चारवटा निर्णय गरेको जानकारी दिदै ज्ञवालीले अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएकाले सर्वोच्चको फैसला स्वीकार्दै कार्यान्वयनमा लैजाने निर्णय भएको बताए ।

सर्वोच्चको फैसलापछि पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय भएको पनि उनले जानकारी दिए ।

बैठकले यो समूहले देशका विभिन्न स्थानमा तय गरेको सभाहरुलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । केही ठाउँको कार्यक्रमको स्वरुप फेरिए पनि आफ्नो कुरा राख्न सभा गर्ने निर्णय भएको ज्ञवालीले बताए ।

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले भने, ’हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ त्यो गर्नुहुन्छ, आवश्क परामर्शपछि ।’

संसद् विघटनको निर्णय बदर गर्दै सर्वोच्च अदालतले मंगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।