काठमाण्डौं,१२ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रतिनिधिसभाको विघटन गर्ने ओली नेतृत्वको सरकारको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री ओलीले राजिनामा दिनसक्ने कतिपयले अडकलबाजी गरीरहेकाबेला उनका प्रेस सल्लाहकार सूर्य थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सर्वाेच्चको निर्णयसँगै कतिपयले प्रधानमन्त्री र राष्ट्रपति दुवैले नैतिकताका आधारमा पद छाड्नुपर्ने आवाज उठाइरहेका बेला प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने भएका हुन् ।
‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘तत्काल राजीनामा दिनुहुने छैन ।’
थापाले सर्वाेच्च अदालतले गरेको फैसला विवादास्पद भएको पनि उल्लेख गरेका छन् । तर मान्नुपर्ने उनको भनाइ छ । ‘सर्वाेच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ,’ उनले लेखेका छन्, ‘र, कार्यान्वयन गर्नुपर्छ ।’
यसका दुष्प्रभावहरु भविष्यमा देखिँदै जाने उल्लेख गर्दै थापाले यसबाट राजनीतिक समस्याको हल नहुने बरु अस्थिरता अझै बढ्ने टिप्पणी गरेका छन् ।