काठमाडौँ,८ फागुन ।
तरुण दलका तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न तथा जेल भित्रै हत्यामा संलग्न व्यक्तिहरूलाई सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा कैद मिनाहा गरिएको भन्दै नेपाली कांग्रेसको युवा संगठन तरुण दलले आपत्ति जनाएको छ ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार विज्ञप्ति जारी गरी सरकारको उक्त निर्णय प्रति आपत्ति जनाएका हुन् ।
सरकारको उक्त निर्णयले देशमा हत्या, हिंसालाई ढाकछोप गर्ने र अवान्छित क्रियायाकलापलाई प्रोत्साहित गर्ने तरुण दलको दाबी छ ।
२०६८ साल पुस महिनामा जिल्ला कारागार भरतपुर (चितवन) भित्र नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न गम्भीर अपराध गर्ने अपराधीहरु फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्या दवी भण्डारीले बाँकी कैद मिनाह गरी आम माफी दिइएको प्रति नेपाल तरुण दल केन्द्रीय समिति गम्भीर आपत्ति जनाउँदै तरुण दलले उक्त कार्यको घोर निन्दा एवं भत्सर्ना गरेको छ ।
सरकारको निर्णयले अपराधीहरूलाई संरक्षण पुगेको जनाउदै विज्ञप्तिमा चितवन जिल्ला कमिटीलाई सरकारको निर्णयविरुद्ध आन्दोलन गर्न अध्यक्ष बस्नेतले निर्देशन दिइएको छ ।
‘सरकारको यस्ता गैरजिम्मेवारपूर्ण कार्यले नेपाल तरुण दल र लोकतन्त्रवादी आम तरुणहरुलाई गम्भीर र आन्दोलित तुल्याएको हुँदा अपराधीहरुलाई संरक्षण गर्ने जनविरोधी सरकारको उक्त निर्णयको विरुद्ध चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्न नेपाल तरुण दल केन्द्रिय समिति दलको चितवन जिल्ला समितिलाई यसै प्रेस विज्ञप्ती मार्फत निर्देशन गर्दछ ।’–विज्ञप्तिमा उल्लेख छ ।
२०६८ सालमा चितवन जिल्ला कारागारमा तत्कालीन एमालेको युथ फोर्सका कार्यकर्ताको आक्रमणमा परेर घाइते भएका पौडेल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रजातन्त्र दिवसका अवसरमा सरकारको सिफारिसका आधारमा जन्मकैद सजाय पाएका १ सय ७९ सहित ५ सय ९५ कैदीलाई रिहा गरिएको थियो । त्यस्तै १५ जनालाई आममाफी दिइएको थियो ।