देवी प्याकुरेल
हार्दिक श्रद्धाञ्जलीबाट
हिजो आजको
हाम्रो बिहानी सुरु हुन्छ।
अनि एकैछिनमा हार्दिक बधाइ, शुभकामना
अनि फेरि
समापन हुन्छ चिर्यसबाट।
एकै दिन एउटै मान्छे अनेक भइदिन्छ
एउटाले शुभकामना र बधाइ दिन्छ
हामी भेडाहरु शुभकामना दिन्छौँ
बधाइ दिन्छौँ, हो हो भन्छौँ,
होइन होइन भन्छौँ
बाबुको मृत्यु छोराले भन्दा पहिले
पार्टीले थाहा पाउछ
अनि आफ्नो असल कार्यकर्ता घोषणा गर्छ
र
श्रद्धाञ्जली लेख्छ, हामी त्यही लेखिदिन्छौं
हामी भेडाहरु मलामी जाँदैनौं।
के हामी कसैले मर्नु पर्दैन?
के एउटा भेडा भिरबाट हामफाल्दा
हामी सबै भिरबाटै खस्ने नै हो?
हामी मान्छे नै हौ र?
हामी व्रतबन्धलाई भुल्दैछौं
हामी न्वरानलाई हेला गर्दैछौँ
भूमिपूजा छोडीदिऔं।
हामी
आजका हामी
हामी गाई बेचेर
दूध किन्छौं
मकै बेचेर
पपकर्न खान्छौँ
कागती, भकिम्लो, टिमुर अमला मासेर
गमलामा बुके उर्मादैछौँ।
बरु
भिरपाखाका भेडाहरु
अझै तितेपाती खादैछन्, हर्रो बर्रो चिन्दैछन्
घोप्टे युगका कोठे मान्छे साँच्चै हामी भेडा हौं।
र
कमसेकम भेडाहरुले
आफ्नै गोठालालाई
बिहान जिन्दावाद
अनि साँझ मुर्दावाद त भन्दैनन्।
साहित्यपाटी बाट