Share this News on Social Networking Pages

घोराही, ३ फागुन ।
लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मनाएको छ ।

सो अवसरमा आज राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन समेत गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेलले अवको ८ महिना भित्र गुरुयोजना बन्ने र त्यसपछी प्राथमिकताका आधारमा पूर्वाधाहरु बन्ने क्रम सुरु हुने बताए ।

पहिलो चरणमा राजधानी क्षेत्रमा प्रदेश सरकार तथा प्रदेश सभा अन्तरगतका प्रशासनिक कार्यालयहरुको पूर्वाधार बनाइने उनले जानकारी गराए । अवको दुई बर्ष भित्र यी संरचना बनाउने र प्रदेश सभा सदस्यको चुनाव अघि राजधानी संग जोडिएका प्रशासनिक कार्यालयहरु राजधानी क्षेत्रमा स्थापना गरिने सरकारले योजना रहेको उनको भनाई छ ।

प्रदेश सरकार स्थापना भएपछी पूर्वाधार विकासमा ४ सय ३ किलोमिटर सडक कालोपत्रे, ४ सय ९४ किलोमिटर सडक ग्राभेल, ७ सय ८७ किलोमिटर कच्ची सडक निर्माण, ३ सय ३१ किलोमिटर नयाँ ट्रयाक खोलिएको मुख्यमन्त्री पोख्रेलले बताए ।

प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले संघियता कार्यान्वयनको पहिलो अध्याय प्रदेशको राजधानी र नामको टुंगो लगाएर सुरु भएको बताए ।

यसैविच प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले विभिन्न पदकबाट ५८ जनालाई विभुषित गरिएको छ । बुद्ध शान्ति पदकबाट आचार्य डा. भिक्षु अमृतानन्दलाइ मरणोपरान्तबाट विभुषित गरिएको छ ।

प्रदेश प्रमुख जनसेवा पदकबाट गुम्राह थारुलाई मरणोपरान्तले विभुषित गरिएको छ । मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट दाङका माणिकलाल गौतमलाई र प्रदेश रत्न पदकबाट दाङका युवा बैज्ञानिक मार्सल रोकालाई विभुषित गरिएको छ ।