बुटवल,३० माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य देव गुरुङले ओली सरकारले गठन गरेको सुकुम्बासी आयोग र संवैधानिक निकायका नियुक्ति समेत असंवैधानिक भएको दाबी गरेका छन् ।
मुलुकमा स्वास्थ्य संकटकाल लागु भएको बेला सुकुम्बासी आयोग गठन गरिएको गुरुङले संकटकाल लागु भएको अवस्थामा आयोग गठन गर्नु असंवैधानिक भएको तर्क गरे ।
शहिद सुकदेव गुरुङ राष्ट्रिय कार्यदल नेपालद्धारा शुक्रबार बुटवलमा आयोजित सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व कानून मन्त्री समेत रहेका गुरुङले संकटकाल लागु भएको अवस्थामा अत्यावस्यक भनि उल्लेख गरिएका ९ वटा सेवा सुचारु गर्ने बाहेक सरकारले अन्य कुनै काम गर्न नसक्ने दाबी गरेका हुन् ।
एक पटक फिर्ता लिएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनराबृत्ति गरेर ल्याइएको अध्यादेश अवैधानिक भएको र अवैधानिक प्रावधानमा टेकेर गरिएको नियुक्ति पनि अवैधानिक हुने उनको जिकिर छ ।
प्रधानमन्त्रीले घोषणा गरेको चुनाव संविधान विपरीत भएको भन्दै गुरुङले असंवैधानिक रुपमा घोषणा गरिएको चुनाव हुनै नसक्ने दाबी समेत गरे ।
वर्तमान संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नगरेको भन्दै गुरुङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताए ।
प्रधानमन्त्री ओली संघीय लोकतान्त्रिक गणतन्त्र बिरोधी भएको बताउदै उनले सरकारका गलत कामको बिरोध गर्दा सरकारले जनताको मुख थुन्ने काम गरेको आरोप लगाए ।
पञ्चायत र राणा शासन भन्दा केपी ओली बढि निरंकुश र तानाशाही भएको बताउदै गुरुङले बोलेकै भरमा पार्टीका नेता, कार्यकर्तालाई गिरफ्तार गर्ने, पक्राउ गर्ने, झुट्टा मुद्दा लगाएर तर्साउन खोज्नु सरकारको फाँसीवादी र तानाशाही चिन्तन भएको बताए । नेतृ रामकुमारी झाक्रीको गिरफ्तारतर्फ इंगित गर्दै नेता गुरुङले भने– ‘सरकारको दमनका विरुद्व प्रतिरोध र प्रतिवाद गरिने चेतावनी दिए । राणाा, पञ्चायतले पनि दमन र झुट्टामुद्दा लगाएकै हो, ओलीले पनि त्यसैको निरन्तरता दिन खोजेका हुन्, त्यो सम्भव भएन ।’–उनले भने ।
उनले प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सञ्चालन गर्न सकिने बताए । २०५९ सालमा राजा ज्ञानेन्द्रले विघटन गरेको संसद आन्दोलनको बल र राजनीतिक सहमतिमा २०६३ मा सञ्चालन भएजस्तै अहिले पनि सुचारु गर्न सकिने उनको भनाइ छ ।
शहिद सुकदेव गुरुङ राष्ट्रिय कार्यदल नेपालका अध्यक्ष धनबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नविन सुनुवार,मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय सदस्य शिव बहादुर गुरुङ,नेपाल आदिबासी जनजाती महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष दिपक गुरुङ,महासंघका प्रदेश सचिब मनोज राना,राष्ट्रिय आदिवासी जनजाती महिला मञ्च प्रदेश संयोजक हरीकला थापा,नेकपा रुपन्देही सचिवालय सदस्य होमनाथ न्यौपाने,लोकतान्त्रिक तमु संघ रुपन्देही अध्यक्ष राजेन्द्र गुरुङ लगायतले बोल्दै शहिद राणा शासनको बिरोध गर्दा शहिद भएका शुकदेव गुरुङलाई शहिद घोषणा गराउने कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
बिमला गुरुङको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्जय गुरुङले गरेका थिए ।