महिला राष्ट्र प्रमुख रहेको मुलुक नेपालमा महिला असूरक्षीत हुनु दुखद
बुटवल,२९ माघ ।
बैतडीकी बर्ष १७ वर्षिय भागरथी भट्टको बलात्कार पश्चात हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन सरकारी संयन्त्र असफल रहेकोमा राष्ट्रिय महिला मोर्चा खेद व्यक्त गरेको छ ।

राष्ट्रिय महिला मोर्चाकी अध्यक्ष होमाया गुरुङ र महासचिव धनी आलेले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारी संयन्त्र असफल रहेकोमा खेद व्यक्त गरको हो ।

विज्ञप्तिमा गत माघ २१गते बैतडीमा बर्ष १७ वर्षिय भागरथी भट्टको बलात्कार पश्चात हत्या गरिएको दुर्दान्त घटनाबारे देश विदेशका नेपालीहरुले चासो र चिन्ता व्यक्त गरिरहेको अवस्थामा समेत घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारी संयन्त्र असफल रहेकोमा राष्ट्रिय महिला मोर्चा खेद व्यक्त गरेको जनाइएको छ ।

अढाई वर्ष अघी (०७५ साउन १० गते) कंचनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई कारवाहीको दायरामा ल्याउन असफल रहेको बर्तमान सरकारले बैतडी घटना प्रति पनि उदासीनता देखाउनुले देशमा कानूनी राज अत्यन्त कमजोर रहेको पुन पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

बिगत तीन बर्षको तथ्यांक हेर्दा ७ हजार भन्दा बढीको बलात्कार र ७० जना महिला एवं बाल—बालिकाहरुको हत्या भएको अत्यन्त चिन्ताजनक अवस्थामा बैतडी घटनाले महिला राष्ट्रप्रमुख रहेको देशमा महिला अनि बालिकाहरुको अबस्था कतिसम्म असुरक्षित रहेछ भन्ने पुनःपुष्टि पनि गरेको भन्दै विज्ञप्तिमा महिला हिंसा गर्ने र बलात्कारीहरुलाई यथासिघ्र कानूनी कारवाहिको दायरामा ल्याऊन जोडदार माग गरिएको छ ।

घटनाको विषयमा सरकारले गम्भीरता पूर्वक कदम नचालेको खण्डमा राष्ट्रिय महिला मोर्चा कडा दवाब मूलक कदम चाल्न बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।