Share this News on Social Networking Pages

बुटवल,२५ माघ ।
प्रतिनिधि सभा विघटनको बिरोधमा जनता समाजवादी पार्टीले रुपन्देहीका १६ वटै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिलाई असंवैधानिक र प्रतिगामी भन्दै आन्दोलनरत जसपाले तेस्रो चरणको आन्दोलन अन्तर्गत आइतबार प्रधानमन्त्रीको पुत्ला दहन गरेको सो पार्टीले जनाएको छ ।

जिल्लाका पालिकास्तरीय कमिटीको आयोजनामा सांझ ५ बजेपछि १६ वटै स्थानीय तहमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको जसपा रुपन्देही इन्चार्ज देबेन्द्र पाण्डेले जानकारी दिए ।

पुत्ला दहन कार्यक्रममा पार्टीका नेतासंगै स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि समेतको सहभागिता रहेको इन्चार्ज पाण्डेले बताए ।

रोहिणी गाउँपालिकाको धकधईमा आयोजित पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले प्रतिनिधि सभा विघटनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको बताए ।

संसद विघछन र संवैधानिक निकायमा भएको नियुक्तिले मुलुक अस्थिरताको अंध्यारो सुरुङमा धकेलिएकाले संविधान बचाउन सबै विपक्षी दलहरु संयुक्त आन्दोलनमा जानुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपयुक्त विकल्प भएको भन्दै उनले संयुक्त आन्दोलन शुरु भए एक हप्तामा संसद पुनःस्थापना हुने दाबी गरे ।