बुटवल,२३ माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ मध्ये १६ वडामा सरकारी स्वास्थ्य संस्था पुगेको छ ।

नगरपालिकाको वडा नं. १५ मा शुक्रबार सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएसँगै तिलोत्तमाका १७ मध्ये १६ वडामा सरकारी स्वास्थ्य संस्था पुगेको हो ।

हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुरुप तिलोत्तमा नगरपालिकाको वडा नं. १५ मा पनि शुक्रबारदेखि सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएको हो ।

सखुवानीमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको आज नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे ।

बाँकी एक वडामा छिट्टै स्वास्थ्य संस्था सञ्चालनमा ल्याउनेगरी काम अघि बढेको नगरपालिकाका प्रेस सल्लाहकार विपी गौतमले जानकारी दिए ।

आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडाध्यक्ष खेमराज गुरुङ, सिनियर अहेव अधिकृत गणेश गौतमलगायतले आधारभूत स्वास्थ्य सेवा महत्वको बारेमा प्रकाश पारेका थिए ।

आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।