बुटवल,२३ माघ ।
नेपाली सेनाले बाँकेमा बन्दुकसहित ९ जनालाई पक्राउ गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज इलाकाभित्र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा नेपाली सेनाले बन्दुकसहित ९ जनालाई पक्राउ गरेको हो ।
बाँके राष्ट्रिय निकुञ्जमा सञ्चालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले उनिहरुलाई बन्दुक सहित पक्राउ गरेको सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालाीकाका भीमबहादुर खनाल,सल्यानकै रत्न थापा मगर, कृष्ण बहादुर थापा, सोमबहादुर खत्री, टेक बहादुर कुंवर, कुमार थापा, धनबहादुर थापा, देव प्रसाद थापा र तिलक डांगी रहेका छन् ।

सल्यानको कालिमाटी गाउँपालाीकाका भीमबहादुर खनाललाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा निकुञ्जको सिमावर्ती क्षेत्र वरपर बसोबास गर्ने खनाल सहित ९ जनालाई पक्राउ गरेको सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

उनीहरुले गोठ तथा घर नजिकको झाडीहरुमा लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको भरुवा ६ थान बन्दुक आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको छ ।

‘अपरेशन महाहण्ट–७’ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जिवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।