Share this News on Social Networking Pages

काठमाडौं,२१ माघ ।
विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।

‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु’ त्रिपाठीले रिटमा आदेश माग गर्नुभएको छ , ‘सो मितिको सिफारिस एवं निर्णयको आधारमा संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नु नगराउनु ।’

सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप भएको रिटमा उल्लेख छ ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश नै संविधान विपरीत रहेको, परिषदका ६ मध्ये तीन जना बसेर निर्णय गर्न नमिल्ने र संसदीय सुनुवाइबिनै ती आयोगहरूमा नियुक्तिको परिकल्पना संविधानले नगरेको त्रिपाठीको भनाइ छ ।