बुटवल,२० माघ ।
लुम्बिनीको वातावरण बचाउन योगदान पुराएकोे भन्दै लुम्बिनीमा विभिन्न १२ जनाको नाममा सिमसार क्षेत्र नामाकरण गरि वातावरण संरक्षण अभियानको थालनी गरिएको छ ।
विश्व सिमसार दिवसका अवसरमा लुम्बिनी विकास कोषले मंगलवार लुम्बिनीमा एक कार्यक्रम गरि यस वर्ष ७ वटा र आगामी वर्ष थप ५ गरि १२ वटा सिमसार क्षेत्र विभाजन गरि जलासयको नामाकरण गरेको हो ।
लुम्बिनी प्रदेश सरकारका पर्यटन मन्त्री लिला गिरी, लुम्बिनी प्रदेश सभाका नेपाली काँग्रेसका प्रमुख सचेतक फकुरद्धिन खाँन, विश्व वन्यजन्तु कोषका कन्ट्री डाईरेक्टर घनश्याम गुरुङ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश त्रिपाठीले संयुक्त रुपमा सिमसार क्षेत्रको शुभारम्भ गरेका हुन् ।
लुम्बिनीको वातावरण वचाउन महत्वपूर्ण योगदान गरेका डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, डा.मिन्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, तिर्थमान शाक्य, घनश्याम गुरुङ र जरजेज अर्चिवल्ड्को नाममा सिमसार क्षेत्र नामाकरण गरिएको हो ।
आगामी वर्ष अल्डो लिओपोलड्, पोटर म्याटिसन,रिचेल करक्सन,रोब्याट ब्याटिमिन, र जोअन्ना म्यासिएको नाममा सिमसार क्षेत्र नामाकरण गरि वातावरण संरक्षण कार्यक्रम अभियान सञ्चालन गर्न लागिएको कोषले जनाएको छ ।
कार्यक्रममा मन्त्री गिरीले जैविक विविधताको संरक्षण अहिलेको प्रमुख चुनौती रहेकाले प्रदेश सरकार सोको संरक्षणमा जुटेको धारणा राखे । वातावरण विग्राने सबैभन्दा पहिलो दुस्मन प्लाष्टिक रहेकाले बुद्धसंग सम्बन्धीत जिल्ला र स्थानिय तहमा प्लाष्टिक रहित क्षेत्र बनाउनका लागि योजना बनाएको पनि मन्त्री गिरीले बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले शुरु गरेको एक गाउं एक पोखरी अभियानलाई साकार बनाउन जरुरीेको उनले जोड दिए ।
लुम्बिनी प्रदेश सभाका नेपाली काँग्रेसका प्रमुख सचेतक फकुरद्धिन खाँनले प्रकृतिको नविनतम उपहार जैविक विविधताको संरक्षणका लागि मानवजातीको जिम्मेवारी र दायित्व भएको बताए ।
लुम्बिनीमा पर्यटकको बसाई लम्वाउन सिमसार क्षेत्रको संरक्षण गर्न जरुरी रहेकोमा उनले जोड दिए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश त्रिपाठीले सिमसार क्षेत्रको संरक्षण र वातावरण जोगाउन १२ वटा जलासय निर्माण शुरु गरिएको बताए ।
कार्यक्रममा विश्व वन्यजन्तु कोषका कन्ट्रीडाईरेक्टर घनश्याम गुरुङ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी ,लुम्बिनी वौद्ध विश्व विद्यालयका उपकुलपति ह्दयरत्न बज्राचार्य, कोषका सदस्य सचिव सानुराजा शाक्य लगाएतल लुम्बिनीलाई धामिकसंगै पर्यापयटकीय क्षेत्रका रुपमा विकास गर्न जरुरी रहेको धारणा राखेका थिए ।
सो अवसरमा लुम्बिनीको प्रचार प्रसारमा संचार क्षेत्रवाट योगदान पुराएको भन्दै वरिष्ठ पत्रकार चेतन पन्त सहित आधा दर्जन बढीलाई सम्मान गरिएको थियो ।
लुम्बिनी विकास कोषको क्षेत्र भित्रको जंगल र सिमसार क्षेत्रहरु सारस लगायत अन्य वन्यजन्तुका लागि राम्रो बासस्थानको रुपमा रहेकोले सारस संरक्षणको लागि अन्तर्राष्ट्रिय क्रेन फाउण्डेशन युएसए ले सन १९९४ को डिसेम्बर २५ मा लुम्बिनी विकास कोषसंग एक सम्झौता गरेको छ ।
जस अनुसार सारस तथा अन्य वन्यजन्तुको संरक्षणको लागि लुम्बिनी विकास कोष अन्र्तगत रहेको ११५५ विगाहा जग्गा मध्ये ६६० विगाहा जग्गामा ५० वर्षको लागि पटृामा उपलब्ध गराई लुम्बिनी सारस आरक्ष स्थापना गरिएको छ ।
लुम्बिनी सारस आरक्षले प्राकृतिक वासस्थानको निर्माण गरि सारस लगायत चरा चुरुङी तथा अन्य वन्यजन्तुहरुको संरक्षण, भगवान बुद्धको उपदेश दर्शाउने गरि चराचुरुङी तथा वन्यजन्तुको संरक्षण सम्बन्धी शिक्षा फैलाउने, स्थानिय वासिन्दालाई लुम्बिनी सारस आरक्ष तथा यस क्षेत्रमा रहेका प्राकृतिक स्रोत्तको उचित व्यवस्थापनमा सक्रिय बनाई सारस संरक्षणमा उत्साहित बनाउने र स्थानिय बासिन्दाले प्रयोग गरिएको स्थानमा वन्यजन्तु तथा चराचुरुङीको संरक्षण गर्न सक्रिय नेपालको गैर सरकारी संस्थाको नमूनाको विकास गर्ने प्रमुख लक्ष्य रहेको छ ।
सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्षको फेबु्रअरी २ मा विशव सिमसार दिवश मनाउँदै आएको छ । विशेष गरि वातावरण संरक्षण विना मुलुक मात्र नभई विश्वनै समाप्त हुने खतरा बढदै गएकोले पनि सिमसार क्षेत्र नामाकरण गरि संरक्षणमा लाग्नु पर्ने जरुरी रहेको छ ।