Share this News on Social Networking Pages

सरोकारवाला पक्षसँग पर्याप्त छलफल गरेर कानून निर्माण गर्नुपर्नेमा जोड
बुटवल,१९ माघ ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले जनतालाई नजिकबाट सेवा प्रदान गर्नु संघीयताको मूल उदेश्य भएको भन्दै प्रदेश र स्थानीय सरकारले सोही अनुरुप जनतालाई सेवा दिनुपर्नेमा जोड दिएका छन् ।

संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशद्धारा प्रदेश सभा स्थापनाको तेस्रो बर्ष प्रवेश गरेको अवसरमा सोमबार बुटवलमा आयोजित ‘संघीयता कार्यान्वयनमा प्रदेश सभा’ विषयक समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तीले जनतालाई नजिकबाट सेवा सूविधा दिने बिषयलाई खर्चसँग जोडेर हेर्न नहुने विचार व्यक्त गरेका हुन् ।

संघीयताको कार्यान्वयन राम्रोसँग भए मात्रै संघीयताबाट जनताले लाभ लिनसक्ने भन्दै सभामुख घर्तीले तिनै तहका सरकारले संघीयताको मर्म,भावना र जनअपेक्षा अनुरुप काम गर्नुपर्ने आवस्यकता औल्याए ।

कानून निर्माणमा अन्य प्रदेशभन्दा लुम्बिनी प्रदेश अग्रस्थानमा रहेको बताउदै उनले अब बनेका कानूनहरुको कार्यान्वयन र प्रभावकारीताबारे समिक्षा गर्ने बेला आएको बताए ।

लामो समयको संघर्ष र बलिदानबाट संघीयता आएको भन्दै सभामुख घर्तीले इतिहासले सुम्पिएको जिम्मेवारी र दायित्व सबैले पुरा गर्नुपर्ने धारणा राखे ।
उप सभामुख कृष्णि थारुले अब कानून निर्माणमा भन्दा कानून कार्यान्वयनको अवस्था र त्यसको प्रभावकारीताको बिषयमा समिक्षा गर्नुपर्ने बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खाँनले धेरै कानून निर्माण गर्ने भन्दा पनि जनपक्षीय कानून निर्माण गर्नुपर्नेमा जोड दिए ।
संघीयता कार्यान्वयनसँगै जनताले नजिकबाट सेवा प्राप्त गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै प्रमुख सचेतक खाँनले सरकार संघीयताको मर्म र भावना अनुसार नचल्दा संघीयताप्रति जनताको मोह भङ्ग हुनसक्ने चिन्ता व्यक्त गरे ।

प्रदेश सभा सदस्य तारा जिसीले प्रदेश सरकारद्धारा सञ्चालित विकास योजनाहरुमा अनियमितता भएको भन्दै अनियमितता गर्ने माथि कारबाही नहुनु दुखद भएको बताइन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष भरत केसीले लुम्बिनी प्रदेशमा संघीयता कार्यान्वयनको अवस्था र लेखक युवराज कंडेलले लुम्बिनी प्रदेशमा कानून निर्माण र कार्यान्वयनका समस्या बिषयमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कार्यपत्रमाथी टिप्पणी गर्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उप सभापति गोविन्द खनालले कानून निर्माण गर्दा सरोकारवाला पक्ष र विज्ञहरुको सहभागिता नदेखिएको भन्दै सरोकारवाला पक्ष र विज्ञहरुसँग छलफल गरेर बनाइने कानून मात्रै प्रभावकारी हुने बताए ।

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेशको काममा भन्दा केन्द्रीय राजनीतिमा बढी ध्यान दिएका कारण प्रदेश सरकारले गति लिन नसकेको भन्दै उनले प्रदेशमा भएका अनियमितताका घटनामा कारबाही नहुनु दुखद भएको बिचार व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले प्रदेशसभाले गरेका गतिबिधिबारे जानकारी गराएका थिए ।

संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष विष्णु घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष दीपक ज्ञवाली, उच्च अदालत बार एशोसियसन बुटवलका अध्यक्ष जोग बहादुर घर्ती,पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्षद्धय दीनेश पाण्डे र नीरु गौतम,अधिकारकर्मी रीमा बिसी लगायतले कार्यपत्रमाथी टिप्पणी कानून निर्माण गर्ने क्रममा सरोकारवाला पक्षसँग पर्याप्त छलफल गरेर मात्रै कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

जसका लागि कानून बनाउने हो उनिहरुसँग पर्याप्त छलफल गरेर निर्माण गरिने कानूनको अपनत्व ग्रहण गर्ने भन्दै उनिहरुले सरोकारवालाहरुसँग पर्याप्त छलफल गरेर मात्रै कानून निर्माण गर्नुपर्ने आवस्यकता औल्याए ।

संसदीय मामिला पत्रकार समाजका महासचिब सिपी खनालको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मण पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए ।