Share this News on Social Networking Pages

काठमाण्डौ,२ माघ ।
नेपालमा कोरोना संक्रमण परीक्षण गर्ने ‘सेरलक–क्रिस्पर सार्स कोभ– २ किट’ प्रमाणीकरण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्रिस्पर टेक्नोनोलोजीले उत्पादन गरेको यो किटको (एनपीएचएल) प्रमाणीकरण (भ्यालिडेसन) गरेको हो ।

‘सेरलक–क्रिस्पर सार्स कोभ २ किट’ प्रमाणीकरण गर्ने क्रममा ३ सय ६० जनाको नमुना परीक्षण गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । जसमा ९८.३३ प्रतिशत समानता देखिएको थियो । पीसीआर र क्रिस्पर दुबै प्रविधिमा रिपोर्ट समान आएपछि उक्त प्रविधिलाई नेपालमा प्रयोग गर्न स्विकृति दिने स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ ।

अमेरिकाको नियमनकारी निकाय फुड एण्ड ड्रग एडमिनिष्ट्रेसनले आपतकालीन प्रयोगको लागि स्वीकृति दिइसकेको उक्त प्रविधि अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा कार्यरत वैज्ञानिक दिग्विजयराज महत र जोन हप्किन्स हेल्थ सिस्टममा कार्यरत क्वालिटी म्यानेजर तथा चिकित्सकीय एनालिटिक्सका विज्ञ डा. विशाल भण्डारीको पहलमा नेपाल भित्राइएको हो ।

‘सेरलक–क्रिस्पर सार्स कोभ २ किट’ पीसीआर परीक्षण भन्दा सस्तो र ‘मास टेस्टिङ’ गर्नको लागि उपयुक्त भएको वैज्ञानिक महतले बताए । उनका अनुसार १० मिनेटमा ९० जनासम्मको परीक्षण गर्न सकिने यो प्रविधिले स्वाब दिएको ७० मिनेट भित्रमा रिपोर्ट दिन्छ । दैनिक १० देखि १२ हजार मानिसको परीक्षण गर्न सकिने यो प्रविधिले नेपालमा महामारी नियन्त्रणमा सहयोग पु¥याउने महतको विश्वास छ ।

क्रिस्पर टेक्नोलोजी प्रविधिलाई कोरोना परीक्षणको उपयुक्त विधि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रमाणीकरण गरेको प्रयोगशालाकी निर्देशक डा. रुना झाको भनाइ छ । उनका अनुसार यो प्रविधिको प्रयोग प्रभावकारी हुने देखिएको छ र यसलाई स्वीकृति दिने कि नदिने भन्ने विषय छलफलमै छ ।

यो किटबाट कोरोना परीक्षण गर्नको लागि भीटीएम किट तथा आरएनए एक्सट्रयाक्सन किट पनि चाहिँदैन । सोही कारण यो अन्य परीक्षण प्रविधिमा भन्दा सस्तो समेत पर्न जाने वैज्ञानिक महतको दाबी छ । ‘यसमा पीसीआर प्रविधिमाजस्तो रिएजेण्ट प्रयोग नहुने हुनाले यसको रिएजेण्ट सबैतिर पाइन्छ’ महत भन्छन्, ‘यसको रिएजेण्ट आफैं बनाउन पनि सकिन्छ ।’

दुई तरिकाबाट परीक्षण गर्न सकिने हुनाले यो अन्य प्रविधिभन्दा बढी प्रभावकारी भएको महतको दाबी छ । प्रयोगशाला र मेसिन नभएको ठाउँमा समेत ट्युबबाट परीक्षण गर्न सकिने र प्रयोगशाला भएको ठाउँमा धेरै संख्यामा परीक्षण गर्न सकिन्छ । प्रयोगशालामा ‘इलाइजा प्लेट रिडर’ले परीक्षण गर्ने महत बताउँछन् ।

‘यो प्रविधिबाट परीक्षण गर्न नयाँ मेसिनहरु ल्याउनुनपर्ने, यहीँको प्रयोगशालामा भएका मेसिनले परीक्षण गर्न सक्छ’ महतले भने, ‘क्रिस्पर प्रविधिले पीसीआरले जस्तै संक्रमण भएको वा नभएको पत्ता लगाउँछ, यो एन्टीवडी परीक्षणको लागि होइन ।’

त्यसैगरी, व्यक्ति स्वयंले स्वाब झिकेरसमेत यो प्रविधिबाट परीक्षण गर्न सक्ने महतले बताउनुभयो । उनका अनुसार स्वाबलाई ट्युबमा राखेर पानीमा रिएजेण्ट मिसाएर ६० डिग्री तापक्रममा तताएर कागज (ल्याटरल फ्लो स्ट्रिप’) राख्दा त्यहाँ नतिजा देखाउँछ । उक्त स्ट्रिपमा एउटा धर्का आयो भने नेगेटिभ र २ वटा धर्का आयो भने पोजेटिभ हुन्छ । क्रिस्पर प्रविधिको यो परीक्षण विधि कम जनसंख्या भएको ठाउँ या दुर्गममा प्रयोग गर्न सकिने महतको दावी छ । ‘ट्युबलाई बोकेर जहाँ पनि लैजान सकिने भएकाले यो तरिका कम मानिस भएको ठाउँमा परीक्षण गर्न उपयुक्त हुन्छ’ महतको भनाइ छ ।

अमेरिकाको सेरलक बायोसाइन्सेसले उत्पादन गरेको उक्त किटलाई नेपाल भित्राउन उत्पादक कम्पनी सेरलक र फिलान्थ्रोपी प्रोजेक्टले १÷१ लाख डलर अनुदान सहयोग गरेका छन् । पहिलो चरणमा ८ हजार परीक्षण किट ल्याइएको वैज्ञानिक महतले जानकारी दिए । उनले भने, ‘नेपालले यो प्रविधिबाट कोरोना परीक्षण गर्न लागि स्वीकृति दियो भने यो पीसीआर परीक्षण भन्दा सजिलो र सस्तो छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्रिस्पर टेक्नोलोजी प्रविधिलाई कोरोना परीक्षणको उपयुक्त विधि भएको प्रमाणीकरण गरेको प्रयोगशालाकी निर्देशक डा. रुना झाको भनाइ छ ।

‘क्रिस्पर प्रविधिले पीसीआर भन्दा छिटो नतिजा दिने मात्र होइन सस्तो पनि रहेछ, प्रमाणीकरणको नतिजाबाट हामी सन्तुष्ट छौं’ डा. झा ले भनिन्, ‘अब यसलाई प्रयोगमा ल्याउने वा नल्याउने विषय मन्त्रालयकै निर्णयमा भर पर्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम क्रिस्पर टेक्नोलोजीको परीक्षण किटलाई प्रयोगको स्वीकृति दिने विषयमा छलफल चलिरहेको बताए । उक्त प्रविधिको प्रमाणीकरणको नतिजा राम्रो भएकाले स्वीकृति दिने सम्भावना रहेको पनि उनको भनाइ छ ।

यो प्रविधि प्रमाणीकरणका लागि एनपीएचएलमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल, मन्त्रालयको अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटा, एनपीएचलको प्रमुख डा. रुना झा, मन्त्रालयका डा. जागेश्वर गौतम, डा. समीर अधिकारी, डा. ज्योति अधिकारी, डा. महेश अधिकारीलगायतले समन्वय गरेका थिए । प्रमाणीकरण गर्ने एनपीएचएलको टिममा वैज्ञानिक महत पनि संलग्न थिए ।