नवलपरासी,१५ बैशाख ।
जिउँदो व्यक्तिको मृत्यु दर्ता गराएको आरोपमा पश्चिम नवलपरासीका एक वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरीसहित चार जना रहेका छन् ।

जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि उनीहरूलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा नारायणीपारी सुस्तागाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारी यसअघि नै पक्राउ परिसकेका छन् । उनले आफ्नो पिताको मृत्यु भएको भन्दै वडा नम्बर ५ मा अर्का ६६ वर्षीय व्यक्तिको गत वर्ष मङ्सिर ७ गते मृत्यु दर्ता गराएका थिए ।

अनुसन्धानका क्रममा मियाँका पिताको भने २०६० सालमै मृत्यु भइसकेको खुल्न आएको छ । उक्त घटना सार्वजनिक भएपछि गत वर्ष चैतमा मृत्यु दर्तामा नाम उल्लेख गरिएका वृद्धका छोराले प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरीका अनुसार सोही घटनामा मृत्यु दर्ताको मुचुल्कामा साक्षी बस्ने ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् भने साक्षीमा हस्ताक्षर गर्ने अन्य ७ जना फरार रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेस गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।