नवलपरासी,१५ बैशाख ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुम्किबासबाट कावासोतीतर्फ जादै गरेको लु१ख ९५८० नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट आउदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा ट्रक चालकले नै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम, थर भने खुल्न नसकेको प्रहरी उपरीक्षक खड्काले बताए ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन घटनास्थलमै छन् भने घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।