नवलपरासी,८ मंसिर ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकाका नागरिकले अब निःशुल्क रगत तथा रक्ततत्व प्राप्त गर्ने भएका छन् । यसका लागि सुनवल नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाबीच निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार सुनवल नगरपालिकाका स्थायी बासिन्दाले रेडक्रस रुपन्देही अन्तर्गतका रक्तसञ्चार सेवा केन्द्र तथा ब्लड बैंकबाट आवश्यक रगत र रक्ततत्व निःशुल्क प्राप्त गर्नेछन् । बिरामीले रगत प्राप्त गर्दा लाग्ने सेवा शुल्क नगरपालिकाले रेडक्रसलाई भुक्तानी गर्नेछ ।
सुनवल नगरपालिकाका तर्फबाट नगरप्रमुख रामचन्द्र उपाध्याय र रेडक्रस रुपन्देहीका तर्फबाट जिल्ला सभापति विमला अर्यालले सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा नगर उपप्रमुख सूर्यप्रसाद दुबे, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गौतमलगायतको उपस्थिति थियो ।
सम्झौताअनुसार नगरपालिकाले प्रतियुनिट रगत वा रक्ततत्व उपलब्ध गराएबापत रेडक्रसलाई ९५० रुपैयाँ सेवा शुल्क उपलब्ध गराउनेछ । रेडक्रसले प्रत्येक महिनाको १० गतेभित्र सेवा विवरण र बिलसहितको प्रतिवेदन नगरपालिकामा पेस गर्नुपर्नेछ ।
निःशुल्क सेवा लिन बिरामी सुनवल नगरपालिकाको बासिन्दा भएको प्रमाण खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा अन्य आधिकारिक कागजात पेस गर्नुपर्नेछ । आकस्मिक अवस्थामा आवश्यक कागजात तत्काल उपलब्ध गराउन नसके तोकिएको शुल्क तिर्नुपर्ने भए पनि २४ घण्टाभित्र कागजात पेस गरेमा उक्त रकम फिर्ता गरिने व्यवस्था सम्झौतामा गरिएको छ ।
अस्पतालमा लगिएको रगत प्रयोग नभए गुणस्तर कायम रहने गरी २४ घण्टाभित्र ब्लड बैंकमा फिर्ता गर्नुपर्नेछ । रगतको सहज उपलब्धता सुनिश्चित गर्न नगरपालिकाले वार्षिक कार्ययोजना बनाएर कम्तीमा वर्षमा दुईपटक रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्नेछ ।
नगरभित्र रक्तदानप्रति उत्प्रेरणा जगाउने कार्यक्रमलाई समेत प्राथमिकता दिने सम्झौतामा उल्लेख छ ।
रगतको सेवा शुल्क सम्बन्धित सरकारी निकायबाट परिमार्जन भएमा सोहीअनुसार लागू हुने व्यवस्था पनि गरिएको छ । कार्यक्रमको प्रभावकारिता र कार्यान्वयन अवस्थाबारे दुवै पक्षले प्रत्येक वर्ष कम्तीमा एकपटक समीक्षा गर्ने जनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये सुनवलसहित ४३ वटा पालिकासँग नागरिकलाई रगत तथा रक्ततत्व उपलब्ध गराउँदा लाग्ने सेवा शुल्क निःशुल्क गर्ने सम्झौता गरिसकेको छ ।
रेडक्रसले रुपन्देहीका १६, कपिलबस्तु १०, पाल्पा रिब्दीकाेट, रम्भा र तिनाउ गरि ३, नवलपरासीका सुनवल सहित सुस्ता, गुल्मीका रुरु, दरवारदेवीस्थान, छत्रकाेट, धुर्काेट, मदाने, मुसिकाेट, चन्द्रकाेट र कालिगण्डकी तथा अर्घाखाचीका सन्दिखर्क, पाणिनी, छत्रदेव र भूमिकास्थानमा सम्झाैता गरि सेवा उपलब्ध गराउदै आएकाे छ । यस व्यवस्थाले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई उपचारका क्रममा रगतको सेवा शुल्कको भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






