धादिङ,८ मंसिर ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डडेलधुराको अजयमेरु गाउँपालिका निवासी करिब २८ वर्षीय बरुण प्रसाद भट्ट रहेका छन् ।

प्रहरीका अनुसार मङ्गलबार (मङ्सिर ८ गते) बिहान ११ बजे काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक भट्टलाई तत्काल उपचारका लागि बैरेनी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले जाँचका क्रममा उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनालगत्तै प्रहरीले ठक्कर दिने टिपर र चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी करिब ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।