काठमाडौँ,३० कार्तिक ।
तीन देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदूतले शपथ लिएका हुन् । भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा.कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले उनीहरूलाई राजदूत पदमा नियुक्त गरेका थिए । मन्त्रीपरिषद्ले १३ जना राजदुतको नाम सिफारिस गरेकोमा संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो ।

संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेपछि सरकारले सम्बन्धित देशहरूमा राजदूतहरूको नाम ‘अग्रिमो’का लागि पठाएको थियो । १० जना प्रस्तावित राजदूतहरू मध्ये भारत, चीन र इजरायलका राजदूतको अग्रिमो आएको थियो । अग्रिमो आएका ३ जना राजदूतहरूले मात्रै सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको आशन्न भारत भ्रमणलाई मध्यनजर गरी भारतसहित तीन देशका राजदुतलाई छिट्टै सपथग्रहण गराइएको बताइएको छ ।