नवलपरासी,३० कार्तिक ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती नगरपालिका–११, लोकाहामा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौंका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
दुर्घटनालगत्तै उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको छ । घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको जनाइएको छ ।
दुर्घटनामा परेको बस घटनास्थलमै रहेको छ भने दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । घाइतेहरूको विस्तृत परिचय तथा स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।






