काठमाण्डौ,२ कार्तिक ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा दुई दिन अष्टमी परेकाले आज पनि महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ ।

समितिले स्वीकृति दिएको पात्रोमा हिजो र आज दुवै दिन महाअष्टमी उल्लेख छ । दशैँ घर वा पूजा कोठामा हिजो गरिएको महाअष्टमीको कर्म आज पनि दोहोर्‍याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा देवमणि भट्टराईले जानकारी दिए ।

असोज शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा गएराति नै गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्को भनाइ छ ।

यसैबीच राज्यका तर्फबाट हनुमान ढोकामा गरिने कालरात्रि पूजा समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार आज राति गरिने भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिए ।

हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको उनको भनाइ छ । हनुमानढोका दरबारको दशैँ घरमा हिजो महाअष्टमीको सामान्य पूजा गरिएको थियो । मूल पूजा आज गरिने दरबार हेरचाह अड्डाले जनाएको छ ।