बुटवल,१ कार्तिक ।
बुटवल आसपासका क्षेत्रबाट अटो रिक्सा चोरी गर्ने कार्यमा संलग्न रहेको आराेपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल र यस आसपासबाट अटो रिक्सा चोरी हुने र फेला नपर्ने घटना हुन थालेपछि प्रहरीले त्यसविरुद्ध सजकता अपनाएको थियो ।

पछिल्लो चोरीको घटना लगत्तै पिछा गर्दै गएको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चोरी गरेको रिक्सा काट्दै गरेको अवस्थामा फेला पार्नुका साथै त्पसमा संलग्न ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गुल्मी धुर्कोट गाउँपालिका वडा नं. ७ घर भई हाल बुटवल उप-महानगरपालिका वडा नं. १ बस्ने २० वर्षिय बाबुराम नेपाली, धुर्कोट गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ११ बस्ने ३३ वर्षिय रमेश नेपाली, गुल्मी ईश्मा गाउँपालिका वडा नं. १घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने ३३ वर्षिय बाबुराम थापा, गुल्मी मदाने गाउँपालिकावडा नं. ३ घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ११ बस्ने २५ वर्षिय बिर बहादुरनेपाली र गुल्मी रेसुङ्गानगरपालिका वडा नं. ५ घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ११ बस्ने २३ वर्षिय दिपक खनाल रहेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगर स्थित घरअगाडी पार्किंङ गरी राखेको लु १ ह १७९८ नम्बरको अटो रिक्सा हराएकोमा इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ बर्माडाडा स्थितमा ग्रेन्डरले काट्दै गरेको अवस्थामा उक्त नम्बरको अटो रिक्सा फेला पारेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरिएका पाँचै जनालाई चोरी कसूरमा ५ दिनको म्याद लिएर थप अनुसन्धान कार्य जारी राखेको प्रहरीले जनाएको छ ।