राेल्पा,१ कार्तिक ।
रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्तीमगर रहेका छन् ।
राेल्पाकाे माडी–१ चालाङ स्थित तुलसीपुर–घर्तीगाउँ भित्री सडकखण्डमा आइतबार बिहान करिब १० बजे घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह ४९४७ नम्बरको अटो सडकबाट करिब ६०० मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार भण्डारीलाई घर्तीगाउँस्थित स्मृति अस्पतालका चिकित्सकले जाँचपछि बिहान साढे ११ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी घर्तीमगरलाई थप उपचारका लागि दाङ रिफर गरिएको थियो । तर, दाङ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएपछि शवलाई बाटोबाटै फर्काइएको प्रहरी निरीक्षक चन्दले बताए ।
अटोमा चालकसहित तीन जना सवार थिए । अटो चालक माडी गाउँपालिका–३ तालाबाङका ४७ वर्षीय कमलसिंह बुढा प्रहरी नियन्त्रणमा छन् ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





