काठमाडौँ,३० असाेज ।
नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट आधिकारिक टी-२० मान्यता पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट मान्यता पाएको जानकारी दिएको हो ।
मान्यता पाएसँगै फ्रेन्चाइज टोलीहरूले अब निर्वाध रूपमा विदेशी खेलाडीहरू अनुबन्ध गर्न सक्नेछन् । यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा टेस्ट राष्ट्रका बढीमा ४ खेलाडी मात्र अनुबन्ध गर्न सकिने अनुमति मात्र दिएको थियो ।
अब भने फ्रेन्चाइजले अनुबन्ध गर्ने विदेशी खेलाडीको संख्यामा कुनै सीमा लाग्ने छैन ।







