बुटवल,३० असाेज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले यस क्षेत्रका समस्या समाधान गर्न जनप्रतिनिधि र पत्रकार सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जाेड दिएका छन् ।

बुटवलस्थित सम्पर्क कार्यालयमा बुटवलका पत्रकारहरूसँग कुरा गर्दै उनलेे आफ्नो पहलमा भए गरेका गतिविधि संचार माध्यममा प्रकाशन प्रसारण गर्ने कार्यमा सहकार्य गर्न आग्रह गरे ।

सम्पर्क कार्यालय मार्फत नागरिकका समस्या, गुनासा र सुझाव संकलन गर्ने तथा ती विषयलाई आवश्यकताअनुसार संसद्मा उठाएर समाधानका लागि पहल गर्ने उनले बताए ।

प्रतिनिधिसभा बैठक नबसेको समयमा सांसद खरेलले आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–२ मा सक्रियता बढाउँदै विभिन्न क्षेत्रका सरोकारवालासँग समसामयिक विषयमा छलफल गर्दै आएका छन् ।

सांसद खरेलले निर्वाचन क्षेत्रका नागरिकसँग निरन्तर सम्पर्कमा रहेर उनीहरूका समस्या बुझ्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यालयमार्फत गतिविधि सञ्चालन गरिरहेको उनको सचिवालयले जनाएको छ ।

नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या,विकास निर्माण तथा सार्वजनिक सरोकारका विषयमा सम्बन्धित पक्षसँग छलफल गर्दै समाधानको पहल गर्ने उनको योजना रहेको सचिवालयले जनाएको छ ।