बुटवल,३० असाेज ।
नेपालीहरूको महान् पर्व बडादशैँको अवसरमा सार्वजनिक बिदा भए पनि बुटवल हस्पिटल प्रा.लि.ले आकस्मिक सेवासहितका सम्पूर्ण स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने भएको छ ।

दशैँ बिदाको समयमा पनि बिरामीलाई सहज,सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले हस्पिटलले इमर्जेन्सी,ओपीडी, आईसीयू,एनआईसीयू,शल्यक्रिया,सिटी स्क्यान,एमआरआई, एक्स–रे तथा प्रयोगशाला (ल्याब) लगायतका स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ ।

चाडपर्वका समयमा हुन सक्ने आकस्मिक स्वास्थ्य समस्या तथा अन्य रोगको उपचारका लागि बिरामीले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले हस्पिटलले बिदाको समयमा पनि सेवा निरन्तरता दिन लागेको हो ।

दशैँका बेला दुर्घटना, चोटपटक तथा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले आवश्यक उपचार, स्वास्थ्य परीक्षण तथा रोग पहिचानका लागि हस्पिटलका सेवा नियमित सञ्चालनमा रहने हस्पिटलका अध्यक्ष चुन्न प्रसाद पौडेलले जानकारी दिए । उनले चाडपर्वका बेला उपचार नपाउने अवस्थाको अन्त्यका लागि बुटवल हस्पिटल तयार रहेको बताए ।

हस्पिटलमा उपलब्ध विशेषज्ञ चिकित्सकीय सेवा,आवश्यक स्वास्थ्य परीक्षण तथा आधुनिक उपकरणको सहायताबाट गरिने जाँचलाई निरन्तरता दिँदै बिरामीलाई समयमै उपचार उपलब्ध गराउने हस्पिटलको उद्देश्य रहेको छ । चाडपर्वका कारण स्वास्थ्य उपचारमा कुनै बाधा नपुगोस् र बिरामीले आवश्यकताअनुसार सहज रूपमा सेवा प्राप्त गर्न सकून् भन्ने कुरालाई विशेष प्राथमिकता दिइएको हस्पिटलले जनाएको छ ।

बुटवल हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले दशैँ बिदामा पनि इमर्जेन्सीसहित आईसीयू,एनआईसीयू, शल्यक्रिया,सिटी स्क्यान,एमआरआई,एक्स–रे र प्रयोगशालालगायतका स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन हुने बताए । उनले चाडपर्वको समयमा पनि बिरामीलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन हस्पिटल प्रतिबद्ध रहेको उल्लेख गरे ।

हस्पिटलले चाडपर्व तथा सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य सेवाको निरन्तरतलाई प्राथमिकतामा राख्दै आएको हस्पिटलले जनाएको छ । बिरामीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर आवश्यक उपचार सेवा उपलब्ध गराउने तथा स्वास्थ्य सेवामा नागरिकको पहुँच सहज बनाउने उद्देश्यसहित बुटवल हस्पिटलले दशैँ बिदामा पनि नियमित सेवा सञ्चालन गर्न लागेको हो।