बुटवल,३० भदौ ।
सिद्वार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् ।

दोभान प्रहरीका अनुसार आज बेलुकी साढे ६ बजेतिर तिनाउ–३ माथिल्लो सिद्दबाबा मन्दिर (झरना) नजिकै सिद्दार्थ राजमार्गमा अचानक सडक माथिबाट ढुङ्गा खस्दा ३ जना घाइते भएका हुन् ।

पाल्पाबाट बुटवलतर्फ आउदै गरेको बा २० च ३९९९ नम्बरको कारमाथी ढुंगा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कार चालक रुपन्देही, शुद्धोधन गाउँपालिका–२ कोलुवा बस्ने ३६ वर्षीय राजकुमार लोध, बुटवल उपमहानगरपालिका–७ दिपनगरका ३७ वर्षीया जुलन गैरे र बुटवल उपमहानगरपालिका जेसीज चोकका ६२ वर्षीया राधिका ढकाल घाइते भएका छन् ।

गैरे र ढकालको अवस्था गम्भीर छ । लोधको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । घाइतेको बुटवल अस्पताल प्रालिमा उपचार भइरहेको छ । कार भने क्षतविक्षत् बनेको छ ।

आज अपरान्हदेखि परेको ठूलो पानीले माथिबाट ढुंगा खस्दा सो क्षेत्रमा केही समय सवारी आवागमन अबरुद्ध भएको थियो । क्षतिग्रस्त गाडी हटाएर सवारी आवागमन सुचारु गराइएको दोभान प्रहरीले जनाएको छ ।