बुटवल,३० भदौ ।
आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी, हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी यो पर्व मनाइएको छ । सप्तऋषि धाममा सोमबार मात्रै अरुन्धतीसहित सप्तऋषिको प्राणप्रतिष्ठा गरि मन्दिर उद्घाटन गरिएको थियो ।
मङ्गलबार हिन्दु धर्मावलम्बी नारीहरू नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो एवं खरानी लगाएर स्नान गर्ने प्रचलन छ । हिलपार्कमा स्थापना भएको यो धामले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको धामका अध्यक्ष यदुनाथ पाण्डेले बताए ।
ऋषि पञ्चमीको अवसरमा बुटवलको हिलपार्क स्थित सप्तऋषि धाममा महिलाहरुले पञ्चमी गरेका छन् । सप्तऋषि धाममा सोमबार अरुन्धतीसहित सप्तऋषिको प्राणप्रतिष्ठा गरि मन्दिर उद्घाटन गरेपछि त्यस क्षेत्रका महिलाहरुले सोही स्थानमा पञ्चमी गरेका हुन् ।
तिज पर्वमा महिला र पुरुष दुवैले पूजा गर्ने भए पनि ऋषि पञ्चमीमा महिलाले मात्र स्नान तथा पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । यस दिन नारीहरूले आफ्नो सौभाग्यका प्रतीक सिन्दूर, पोते, चुरा तथा धागो सप्तऋषिलाई चढाउने गर्छन् ।
पूजा–आराधना सम्पन्न भएपछि कर्कलोलगायत अन्य कन्दमूलको तरकारी बनाएर खाने प्रचलन छ । कर्कलोमा आइरनलगायतका पोषक तत्व पाइन्छन्, जुन शरीरका लागि आवश्यक मानिन्छ ।






