बुटवल,३० भदौ ।
रुपन्देहीको भैरहवा लुम्बिनीरोडमा रहेको सर्राफ आयल पेट्रोल पम्पमा अनधिकृत रूपमा डिजेल निकालिरहेको -चोरी) अवस्थामा दुईवटालाई नियन्त्रणमा लिइएको छ ।

नेपाल आयल निगमका लागि अमलेखगञ्जबाट भलवारीस्थित निगमको कार्यालयकालागि ल्याइएका ती ट्याङ्करबाट बाटोमै ताला तथा शिल तोडेर डिजेल निकालिएको अवस्थामा प्रहरीले मंगलबार ती ट्याङ्कर नियन्त्रणमा लिएको हो ।

बिशेष सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको विशेष प्रहरी टोलीले लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका दुई ट्याङ्करलाई सर्राफ आयल पम्पबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, दुवै ट्याङ्करको शिल तोडेर डिजेल निकालिरहेको अवस्थामा टोलीले छापा मारेको थियो । अर्को एउटा ट्याङ्कर भने पम्पबाट बाहिरिएर फरार भएको बताइएको छ । ती दुईवटा ट्याङ्करलाई नियन्त्रणमा लिने क्रममा अर्को एउटा ट्याङ्कर पम्पबाट बाहिरिएर परार भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका दुवै ट्याङ्करका चालक तथा सहचालक र पेट्रोल पम्प सञ्चालकसमेत फरार रहेका छन् ।

यसअघि पनि उक्त पम्पमा पेट्रोलियम पदार्थको अनधिकृत कारोबार हुने गरेको दाबी प्रहरी टोलीले गरेको छ । सर्राफ आयल पम्प नेपाल आयल निगमको आधिकारिक बिक्रेता भएकाले निगमको अनुमति बिना अन्य स्रोतबाट पेट्रोलियम पदार्थ खरिद बिक्री गर्न पाइँदैन । नेपाल आयल निगम, लुम्बिनी प्रादेशिक कार्यालय भलवारीबाट गएको टोलीले सर्राफ आयल पम्प तत्काल सिल गरेको छ ।

निगमले घटनाबारे अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ । निगमका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शैलेन्द्र भुषालले घटनाको अनुसन्धान भइरहेको बताए । छानबिनबाट अनधिकृत रूपमा पेट्रोलियम पदार्थ निकालिएको पुष्टि भएमा ट्याङ्कर जफत गर्नुका साथै ट्याङ्कर धनी, चालक, सहचालक र पेट्रोल पम्प सञ्चालकलाई कानुन तथा निगमको नियमअनुसार कारबाही गरिने उनले बताए ।

नेपाल आयल निगमले ढुवानीका क्रममा पेट्रोलियम पदार्थ चोरी तथा अनधिकृत रूपमा बिक्री हुन नदिन ट्याङ्करमा विशेष शिल तथा तालाबन्दी गर्ने व्यवस्था गरेको छ । यस्तो शिल लोडिङ र अनलोडिङ हुने निर्धारित स्थानमा मात्र खोल्न मिल्ने हुन्छ ।

अमलेखगञ्जबाट लोड भएर आउने ट्याङ्कर भलवारीस्थित निगम कार्यालयमा पुगेपछि गुणस्तर तथा परिमाण परीक्षण गरिन्छ । त्यसपछि मात्र सम्बन्धित पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ आपूर्ति गर्ने व्यवस्था छ ।

सर्राफ आयल पम्प यसअघि पनि पटक–पटक अनधिकृत कारोबारमा जोडिएको स्थानीय पेट्रोलियम व्यवसायीहरूकोे दाबी छ् ।