दाङ,२७ भदौ ।
सल्यानमा मोटरसाइकलको पछाडिको चक्कामा दुपट्टा बेरिएर लतारिँदा दाङकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोलाकी ३५ वर्षीया जीता केसी रहेकी छिन् ।

दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोलाबाट तीज मनाउन माइतीघर जान लागेकी उनको शनिबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका–३ मा दुर्घटनामा परी मृत्यु भएको हो ।

सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार केसी रा ४ प २४३ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन् । उनले लगाएको सलवार सुटको दुपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिएपछि चक्काले तानेर उनलाई मोटरसाइकलबाट सडकमा खसालेको थियो । त्यसपछि तीव्र गतिमा रहेको मोटरसाइकलले उनलाई केहीबेर सडकमा लतारेको थियो ।

घटना त्रिवेणी–३ टाट्केस्थित भित्री कच्ची सडकखण्डमा भएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय लुहामका प्रहरी नायव निरीक्षक मानबहादुर घर्तीका अनुसार सडक केही ओरालो थियो। मोटरसाइकल तीव्र गतिमा गुडिरहेका बेला दुपट्टा चक्कामा बेरिएको चालकले तत्काल थाहा पाएनन् । दुपट्टा चक्कामा अल्झिएपछि त्यसको गतिको भारले केसीलाई मोटरसाइकलबाट तानेर सडकमा खसालेको थियो ।

मोटरसाइकल चलाउँदै गर्दा केही अप्ठ्यारो महसुस भए पनि चालकले तत्काल मोटरसाइकल रोकेनन् । केहीबेरपछि मोटरसाइकल रोकेर हेर्दा केसी सडकमा लतारिइसकेकी थिइन् । उनको घाँटीमा कसिएको दुपट्टा तत्काल काटिए पनि उनको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

घटनास्थलको अवस्था हेर्दा दुपट्टा चक्कामा अल्झिएपछि त्यसको गतिको भारले महिला मोटरसाइकलबाट पल्टिएको र महिला पल्टिँदासम्म चालकले थाहा नपाएको प्रहरी नायव निरीक्षक घर्तीले बताए ।

घर्तीका अनुसार मोटरसाइकल मृतककी भदै कृष्ण केसीले चलाएका थिए ।