काठमाडौँ,२७ भदौ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो २ बजे सम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

जसमध्ये रसुवामा १ सय ८५ जना, नुवाकोटमा १ सय ९९ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २९ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ३ सय ८४ जनाको शव फेला परेको हो ।

फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ३० वटा शव व्यवस्थापन गरी माटो मुनि सुरक्षित राखिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ७ सय ७९ गरी कुल ३ हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ३४ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७ सय ११ जना व्यक्तिलाई राखिएको छ ।