बुटवल,२४ भदौ ।
जसपा नेपालको विवादले लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेकाे पद गुमेकाे छ । लुम्बिनी प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टी,नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेसँगै उनको पद गुमेको हो ।
बुधबार प्रदेश सभा सचिवालयले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेश सभा नियमावली,२०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको हो ।
जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलको निर्णय र सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेश सभा सदस्य पदबाट निष्कासन गर्ने निर्णय गरेको जनाइएको छ । काफ्लेले पटक पटक स्पष्टीकरणको मौका दिँदा समेत बेवास्ता गरी पार्टी तथा संसदीय दलको निर्णय विपरीत कार्य गरेको पार्टीले जनाएको छ ।
यद्यपि पार्टीको केन्द्रीय समितिले काफ्लेलाई कारबाही गरिएको भन्ने पत्र किर्ते भएको अर्को पक्षको दाबी छ । जसपा नेपालको लुम्बिनी प्रदेश सभा संसदीय दलको कार्यालयबाट प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको थियो । उक्त पत्र सभामुखसमक्ष पेश गरिएपछि प्रदेश सभा बैठक चालु नरहेको अवस्थामा कानुनी व्यवस्थाअनुसार सचिवालयको सूचनापाटीमा सूचना प्रकाशन गर्न निर्देशन दिइएको थियो ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा काफ्लेको दल त्यागसम्बन्धी विवरण सार्वजनिक गरिएको उल्लेख छ । सूचनामा पार्टीले प्रदेश सभा सदस्य पदबाट निष्कासन गरेको जानकारीलाई कानुनी प्रक्रियाअनुसार सचिवालयले प्रकाशन गरेको जनाइएको छ ।
काफ्लेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा पार्टीले जारी गरेको ह्वीपसँग सम्बन्धित विषयमा पार्टी तथा संसदीय दलको निर्णय विपरीत कार्य गरेको आरोपमा कारबाही गरिएको हो ।
पार्टी केन्द्रले एमाले नेतृत्वको सरकारलाई साथ नदिन निर्देशन दिएपनि संसदीय दलको निर्णयबाट सरकारमा सहभागी छ । ५ प्रदेश सभा सदस्य रहेको जसपा नेपालमा ४ जना सरकारको पक्षमा छन् भने काफ्ले मात्र विपक्षमा रहेकी थिइन् ।






