काठमाडौं,२४ भदौ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
बीपी स्मृति दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले भदौ २४ गते आफ्नो घरसमेत जलेको स्मरण गरे । थापाले उक्त दिनको आफ्नो व्यक्तिगत पीडाभन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीडा ठूलो रहेको बताए ।
उनले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउनेहरूको पहिचान गर्नुपर्ने बताए । त्यस्तै, भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको ध्वंसबारे पनि निष्पक्ष अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।
‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ । तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन । उसले दण्ड पाउनुपर्छ,’ थापाले भने ।
सरकारले भदौ २४ गतेको घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले अनुसन्धान कहाँ पुगेको भन्ने प्रश्न गरेका छन् । भदौ २३ गतेको घटनासम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरे ।
थापाले भदौ २३ मा दमन गर्ने, हिंसा भड्काउने तथा भदौ २४ मा अपराध गर्ने सबैलाई कानुनी कारबाही गर्नुपर्ने बताए । ‘अनि मात्रै राज्य जवाफदेही राज्य बन्ने बाटोमा अगाडि बढ्न सक्छ,’ उनले भने ।
सभापति थापाले के भने ?
आज भाद्र २४ गते हाम्रो लागि विशेष दिन, जननायक बीपी कोइरालाको जन्मदिवस। बीपीप्रति हार्दिक श्रद्धासुमन ।
तर गएको वर्ष भाद्र २४ गते जे भयो, त्यसपछि भाद्र २४ लाई केवल बीपी कोइरालाको जन्मदिनका रूपमा मात्र सम्झन पाउने सुविधा हामीसँग रहेन ।
भाद्र २४ गते मेरो घर जल्यो । मेरो परिवार झन्डै त्यही आगोमा परेको थियो । मेरो मात्र होइन, त्यो दिन धेरैको घर जल्यो । धेरै सार्वजनिक सम्पत्तिहरू क्षणभरमै जलेर नष्ट भए। घरहरू मात्रै जलेका थिएनन्, त्यो दिनले थुप्रै परिवारलाई कहिल्यै नमेटिने घाउ पनि दिएको छ ।
तर म र म जस्ता व्यक्तिहरूको जलेको घरको पीडा गौण हुन्छ, जुन बेला हाम्रा अगाडि त्यो दिन वा त्योभन्दा एक दिनअघि आफ्नो सन्तान गुमाएका आमाहरू उभिनुहुन्छ । हाम्रो पीडा गौण हुन्छ, जतिखेर त्यस घटनामा परेर घाइते भएका, जसको त्यो दिनबाट जीवन बदलिएको छ, ती युवाहरू अगाडि आएर उभिन्छन् ।
त्यसैले भाद्र २४ लाई हिजो सम्झँदै गर्दा पनि मैले मेरो घर जलेको वा मेरो पीडाको एउटा क्षणका रूपमा सम्झिनँ । आज पनि सम्झिन्नँ। विषय हाम्रो होइन । विषय त्योभन्दा व्यापक छ ।
यो विषयसँग सम्बन्धित केही प्रश्नहरू छन्, जुन प्रश्नहरू अनुत्तरित छन् । ती प्रश्नहरूको उत्तर खोजिनुपर्छ। नभए सिंगो समाजले यसको मूल्य चुकाउनुपर्छ भन्ने म ठान्छु ।
भाद्र २४ भन्दा पहिला भाद्र २३ आउँछ । भाद्र २३ का बारेमा हिजो मैले केही कुरा राखिसकेको छु ।
भाद्र २३ भनेको नौजवान युवाहरूले आफ्नो आक्रोश व्यक्त गरेको दिन थियो । अदम्य साहस प्रकट गरेको दिन थियो । जेनजी युवाहरूको विद्रोहको दिन थियो ।
त्यो दिन ती युवाहरूमाथि राज्यको चरम दमन भएको थियो । त्यो दिन शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गरेर त्यसलाई उक्साउने काम भएको थियो । ती उक्साउनेहरू को थिए ? तिनको पहिचान हुनुपर्छ । त्यो दमन गर्नेहरूले सजाय पाउनैपर्छ ।
भाद्र २३ को त्यही घटनापछि भाद्र २४ आयो । स्वाभाविक रूपमा त्यहाँ आवेग थियो, आक्रोश थियो । तर तपाईं-हामी सबै जान्दछौँ, आवेग र आक्रोशलाई प्रयोग गरेर त्यहाँ एउटा ठूलो प्रायोजित हिंसा पनि भयो ।
नेपालले अहिलेसम्म कहिल्यै नदेखेको ध्वंस त्यो दिन देख्यो ।
को थिए सिंहदरबार जलाउने ? को थिए अदालत जलाउने ? को थिए त्यो दिन त्यत्रो ठूलो ध्वंस गराउने र उक्साउने ? को थियो योजना बनाउने ? कसले गर्यो ? किन आज कोही चुइँक्क बोल्दैन ? किन आज कसैले त्यसको जिम्मा लिँदैन ? यसको जवाफदेहिता कसैले लिनुपर्दैन ? यो गल्ती गर्ने कसैले सजाय पाउनु पर्दैन ?
अनि त्यत्रो ठूलो राज्य संयन्त्र क्षणभरमा काम नलाग्ने कसरी भयो ? यसको खोजी हामीले गर्नु पर्दैन ?
प्रश्न जवाफदेहिताको हो । प्रश्न दण्डहीनताको हो ।
आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ । तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन । उसले दण्ड पाउनुपर्छ ।
यो दण्डहीनता यत्तिकै रह्यो, त्यो दिन अपराध गर्नेले अपराध गरेको कुराको सजाय पाउने अवस्था हामीले बनाउन सकेनौँ भने यो समाज कहिल्यै न्यायपूर्ण बन्न सक्दैन । यो समाज कहिल्यै सभ्य बन्न सक्दैन ।
यो सरकार निर्वाचित हुनेबित्तिकै सरकारले प्रतिबद्धता गरेको थियो कि हामी २४ गतेको घटनाको निष्पक्ष अनुसन्धान र छानबिन गर्छौँ । कहाँ पुग्यो अनुसन्धान ? कहाँ भयो छानबिन ?
त्यसैले सरकारसँग हाम्रो प्रश्न छ । माग छ । तपाईंले अल्मल्याउन पाउनुहुन्न ।
भाद्र २३ गतेको जुन अध्ययन भएको छ, त्यसको पनि पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। त्यो दिन जस-जसले दमन गरेको छ, उसले सजाय पाउनैपर्छ । हिंसा भड्काउनेहरूको पहिचान हुनैपर्छ । र २४ गते अपराध गर्नेहरूको पनि निष्पक्ष छानबिन भएर उनीहरूले पनि सजाय पाउनुपर्छ ।
सरकारमा बस्ने साथीहरूले हेक्का राख्नुहोला, ख्याल गर्नुहोला। काल पल्किसकेपछि त्यसले यो र त्यो भन्दैन ।
आज पीडामा अरू कोही परेको होला, तर अपराध गर्नेलाई सजाय दिएन भने भोलि त्यो पीडा जसले पनि पाउन सक्छ ।
आगो लगाउनेहरूले त्यसको सजाय पाएनन् भने आगो लगाउने कुराले प्रश्रय पाइरहन्छ ।
यो विषयमा सरकारमा बस्ने साथीहरूले हेक्का राख्नुहोला ।
हामी हाम्रो ठाउँबाट प्रस्ट छौँ । भाद्र २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ । २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ ।
अनि मात्रै राज्य जवाफदेही राज्य बन्ने बाटोमा अगाडि बढ्न सक्छ ।






