बुटवल,२४ भदौ ।
भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा फेला परेका १५ जना नेपाली बालबालिका तथा किशोर किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ । उनीहरूलाई रुपन्देहीको भैरहवा ल्याएर परिवार तथा आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ ।
भारतको दिल्लीस्थित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’को पहलमा भारतका महाराष्ट्र, दिल्ली र झारखण्डलगायत स्थानबाट फरक–फरक समयमा उनीहरूको उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार उद्धार गरिएका बालबालिकालाई परिवार तथा आफन्तको जिम्मा लगाउन नेपाल ल्याइएको हो ।
‘किन इन्डिया’का निर्देशक नवीन जोशीका अनुसार उद्धार गरिएकामध्ये १२ जना १५ वर्षमुनिका बालबालिका छन् भने तीन जना १५ वर्षभन्दा माथिका किशोरकिशोरी छन् । उद्धार गरिएकामध्ये पाँच जना बालिका तथा किशोरी रहेका छन् ।
उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी प्रहरी तथा प्रशासनको रोहवरमा अभिभावकको जिम्मा लगाउने तयारी गरिएको जोशीले बताए ।
उद्धार गरिएकामध्ये केही बालकलाई मदरसामा पढाउने भन्दै अवैध रूपमा भारत लगिएको पाइएको छ । उनीहरू जोखिमपूर्ण तथा नियमविपरीत अवस्थामा रहेको जानकारी पाएपछि भारतीय प्रहरी, विशेषगरी महाराष्ट्र प्रहरीको सहयोगमा सम्बन्धित मदरसामा छापा मारेर उद्धार गरिएको जोशीले बताए ।
त्यस्तै, केही बालिका तथा किशोरी घरेलु हिंसा सहन नसकेर घरबाट भागेका अवस्थामा भारत पुगेको पाइएको छ । उनीहरूलाई पनि भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा फेला पारेर उद्धार गरिएको हो।केही बालबालिका भने दिल्लीका रेल्वे स्टेसनमा अलपत्र अवस्थामा भेटिएका थिए ।
भारतका विभिन्न स्थानबाट उद्धार गरेपछि उनीहरूलाई केही समय ‘किन इन्डिया’को संरक्षणमा राखिएको थियो । आवश्यक प्रक्रिया पूरा गरेपछि सुरक्षित रूपमा नेपाल ल्याएर परिवार तथा आफन्तसँग पुनर्मिलन गराउन लागिएको जोशीले बताए ।
उद्धार गरिएका बालबालिकालाई तीनवटा गाडीमार्फत रुपन्देही ल्याइएको हो । नेपाल ल्याउने क्रममा ‘किन इन्डिया’का कर्मचारीसँगै भारतस्थित नेपाली राजदूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्ल पनि सहभागी थिए ।
जोशीका अनुसार उद्धार गरिएका बालबालिका तथा किशोरकिशोरी मधेस प्रदेशसहित पश्चिम नवलपरासीको प्रतापपुर, पाल्पा, कञ्चनपुर, कैलालीलगायत जिल्लाका रहेका छन् ।






